वीरगञ्ज,११ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको दशौं पूर्ण बैठक सोमवार सम्पन्न भएको छ । सोमबार वीरगञ्ज–१५ स्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सम्पन्न भएको बैठकले चारवटा बिषयमा निर्णय गरेको छ ।
मधेशमा करिब ६ महिनादेखि जारी रहेको मधेश आन्दोलनलाई तत्काल संबोधन गर्न सम्बन्धित पक्षसंग माग गर्दै आन्दोलनका क्रममा शहादत भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको उपचारको ब्यवस्था गर्न सरकारसंग माग गर्दै आन्दोलनलाई दमन नगर्न र आन्दोलनमा संयमतता अपनाउन आन्दोलतरत पक्षसंग आग्रह गर्ने निर्णय बैठकले गरेको छ । यसरी नै शाखाका पूर्व अध्यक्ष गोपाल गिरीको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको स्वर्गीय गोपाल गिरी स्मृति कृयशिल पत्रकारिता पुरस्कारका लागि पांच सदस्यीय सिफारिस समिति बनाउने निर्णय गरेको नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्णउदास खनालले जानकारी दिए ।
शाखाका उपाध्यक्ष धुब्र साहको संयोजकत्वमा गठन गरिएको समितिमा शाखाका पूर्व अध्यक्षहरु शत्रुघन नेपाल,केसी लामिछाने तथा कार्य समिति सदस्यहरु सफल खतिवडा र संजिव मिश्र रहनु भएको छ । उक्त समितिलाई सात दिनभित्र पर्सामा कृयाशिल एकजना पत्रकारलाई पुरस्कारका लागि सिफरिस गर्न आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले पर्सामा सदस्यता शुद्धीकरण,नवीकरण तथा बितरणकालागि अभियान नै सञ्चालन गर्ने भएको छ । त्यसका लागि नौं सदस्यीय कार्यदल गठन गर्ने समेत बैठकले निर्णय गरेको छ । पत्रकार महासंघ पर्सा शाखका पूर्व अध्यक्ष शत्रुघन नेपाल संयोजक रहने गरी गठन गरिएको कार्यदलमा पूर्व अध्यक्षहरु केसी लामिछाने, अशोक तिवारी, दीपेन्द्र चौहान, शाखाका उपाध्यक्ष धुब्र साह, साधारण सदस्य रामनारायण कुर्मी र प्रेस युनियनका केन्द्रीय सदस्य तथा मधेश बिभाग प्रमुख बिजय कुशवाहा, प्रेस चौतारीका केन्द्रीय सदस्य लालबावु शेख तथा क्रान्तिकारी पत्रकार संघका तर्फबाट छठु साह रहेका छन् । कार्य दलले सात दिन कृयाशिल नभएका पत्रकारहरुको हकमा र नयां सदस्यता बितरणको हकमा बुझाउने प्रतिवेदनको आधारमा पत्रकार महासंघले थप निर्णय गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बैठकले मधेश आन्दोलनका क्रममा संचारकर्मीमाथि आक्रमण र सञ्चारसंस्था तोडफोड भएकोप्रति भत्र्सना गर्दै अबका दिनमा यस्ता कृयाकलाप नदोहो¥याउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । बैठकले महासंघको सदस्य लिएका तर कृयाशिल नभएका ब्यक्तिहरुले सदस्यता स्वेच्छिक रुपमा छाडेमा उनीहरुलाई सम्मान गर्ने समेत निर्णय गरेको छ ।
बैठकलाई संबोधन गर्दै पत्रकार महासंघका मध्यमाञ्चल संयोजक एवम् केन्द्रीय सदस्य शीतल महतोले पत्रकार महासंघको शुद्धीकरण अभियान पत्रकार महासंघको केन्द्रीय नीति नै रहेको र यो नीतिमा मुलुकभरमा नै पर्सा जिल्ला अगाडि बढेकोमा प्रशंसा गर्दै केन्द्रीय पत्रकार महासंघले मुल्यनिष्ट पत्रकारिताका लागि जस्तैसुकै सहयोग गर्न पनि तयार रहेको बताए । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।