• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मोरङ्गमा मसाल जुलुस प्रदर्शनमा प्रहरीद्वारा अवरोध

मोरङ्ग, ४ माघ । संयुक्त लोकतान्त्रिक मधेश मोर्चाका कार्यकर्ताहरुले सोमवार अपरान्ह विराटनगरमा मसाल जुलुस निकालेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले शनिमन्दिर र रोडशेषचोकबाट मसाल जुलुस निकाल्ने कार्यक्रम रहेपनि रोडशेष चोकबाट निकाल्न लागेको मसाल जुलुसलाई प्रहरीले बिथोलेको छ । मोर्चाका मोरङ संयोजक राजकुमार यादवको नेतृत्वमा रोडशेषचोकबाट निकालिन लागेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै मोर्चाका कार्यकर्ताको हातबाट मसाल खोसेको थियो ।
यस्तै शनिमन्दिररोडबाट मोर्चाका मोरङ प्रवक्ता मोहम्मद कादिरको नेतृत्वमा मसाल जुलुस निकालिएको छ । मोर्चाका कार्यकर्ताहरुले बुधहाटचोकमा बिरोधसभा समेत गरेका छन । बिरोधसभामा मोर्चाका स्थानीय नेताले सम्बोधन गरेका छन् ।
यता रंगेलीमा साम्य बन्दै गएको मधेशी मोर्चाको आन्दोलन पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली रंगेली आउने भएसंगै तात्न थालेको छ । मोर्चाले सोमवार साँझ मशाल जुलुस निकाली प्रधानमन्त्री के.पी शर्मा ओलीको रंगेलीमा हुने कार्यक्रम अबरोध गर्ने घोषणा गरेको छ ।
मोर्चाले रंगेली चोकबाट निकालेको मशाल जुलुसले रंगेली नगरका विभिन्न भागको परिक्रमा गरी कोणसभाको आयोजना गरेको छ । सो क्रममा प्रहरीले हस्तक्षेप गरी मशाल खोस्ने प्रयासका बाबजुद मोर्चाले मशाल जुलुस निकालेको थियो ।
त्यस क्रममा प्रहरी जवान योगराज राई सामान्य घाइते भएका छन् । युवा संघ नेपालले संविधान बारे तराई मधेश सम्बाद तथा जगरण अभियान अन्तरगत रंगेलीमा बृहत आमसभाको तयारी गरेको छ । प्रधानमन्त्री ओलीको माघ ७ गते रंगेलीस्थित नेपाल बैकको खुल्ला मैदानमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।