राजविराज, ४ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा मधेशी मोर्चा सप्तरीले सोमवार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको मसाल जुलुस राजविराजको विभिन्न भाग परिक्रमा गरेको थियो । चर्का नाराबाजी गर्दै उक्त जुलुस नगर परिक्रमा पश्चात स्थानीय सहीद दशन चौकमा पुगी विरोधसभामा परिणत भएको थियो ।
विरोधसभाका वक्ताहरुले नेपाल सरकार ईमान्दार नरहेको भन्दै उधारो सम्झौता नगर्न नेताहरुको ध्यानाकर्षण गराएका छन् । विगतमा २२ बुँदे र ८ बुँदे सम्झौता भए पनि कार्यान्वयन नभएको चर्चा गर्दै सिमाङ्कनको विषयमा समेत तत्कालै टुङ्गो नलगाएसम्म आन्दोलन फिर्ता नलिन उनीहरुले आग्रह गरेका छन् ।
मधेशी मोर्चाका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित विरोधसभामा मधेशी जन अधिकार फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, मधेश रक्षा वाहिणीका जिल्ला अध्यक्ष विनोद कुमार यादव, मधेशी मोर्चाका क्षेत्रीय संयोजक लक्ष्मण यादव, युवा विद्यार्थी मोर्चाका संयोजक तारकेश्वर यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका महेन्द्र खङ्ग, संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य केदार यादव, नेकपा माओवादीका भूपेन्द्र प्रसाद यादव, संयुक्त राष्ट्रिय जन आन्दोलन समितिका आशिष सिंह, युवा फोरमका जिल्ला अध्यक्ष विशाल यादव, युवा विद्यार्थी मोर्चाका सह–संयोजक विनोद मण्डल, नेकपा माओवादीका सह–संयोजक प्रभाकर सिंह, युवा विद्यार्थी मोर्चाका सर्वेश झा, संजिव दासलगायतले मन्तव्य व्यक्त गरे । कार्यक्रम सञ्चालन नेकपा माओवादीका बैजनाथ यादव ‘बैजु’ले गरे ।