राजविराज, ४ माघ । सप्तरीको सुदनवती देवीलाल फूलमन्ती जनता माध्यमिक विद्यालय सीतापुर भुर्कीका प्रधानाध्यापक सिताराम लाल दासको सोमवार एक समारोहका बीच विदाई गरिएको छ ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा अवकाशप्राप्त प्रधानाध्यापक दासलाई विदाई गरिएको हो । २०४० सालमा शिक्षण सेवामा प्रवेश गरेका उनी पुस ३० गते उमेरको हदले अनिवार्य अवकाश पाएका हुन् । समारोहमा उनलाई साइकल, पोशाक, चाँदीको मेडल, फूलमालाका साथ विदाई गरिएको विद्यालयका शिक्षक लक्ष्मण प्रसाद माझीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक कुमार चौधरीको अध्यक्षता तथा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष फूलेश्वर कुमार मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा उच्च मा.बि. कल्याणपुरका पूर्व प्रधानाध्यापक महाबीर चौधरी, महासंघका सह–अध्यक्ष सुरेश कुमार यादव, एकिकृत शिक्षक संगठनका जिल्ला अध्यक्ष रामेन्द्रनाथ यादव, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष योगेन्द्र प्रसाद साह, निवर्तमान गाविस अध्यक्ष बसन्त चौधरी, नेपाल शिक्षक फोरमका अध्यक्ष श्याम यादव, उच्च माध्यमिक विद्यालय प्रसवनीका प्रधानाध्यापक उपेन्द्र साह, उच्च मा.वि.का प्रदीप चौधरी, मा.बि. तोपाका प्रधानाध्यापक रमेश झा, विद्यालयका सहायक प्रधानाध्यापक कुलानन्द चौधरी, शिक्षक अमित कुमार साहलगायतले प्रधानाध्यापक दासको योगदानबारे चर्चा गरे ।