• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पक्राउ परेका व्यक्ति निर्दोष रहेको स्थानीयको दावी

पक्राउ परेका व्यक्ति निर्दोष रहेको स्थानीयको दावी

राजविराज, ४ माघ । प्रहरी चौकी झुटकीमा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश सुव्बाको घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका व्यक्ति निर्दोष रहेको स्थानीयहरुले दावी गरेका छन् ।
झुटकी गाविस वडा नम्वर ७ घर भएका विन्दुल यादवको छोरा अशोक कुमार यादवलाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाएको छ । गत पुस २० गते करिब ६ बजेको समयमा प्रहरी चौकी झुटकीमा कार्यरत प्रहरी सहायक निरीक्षक सुव्बाको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका व्यक्ति वैदेशिक रोजगारबाट फिर्ता भई हाल एजेन्टको काम गर्दै आएको स्थानीय भद्रभलादमीहरुले सोमवार पत्रकार सम्मेलन गरी दावी गरेका छन् । संघीय समाजवादी फोरम नेपालका सदस्य समेत रहेका उनी घटना भएकै दिन काम विशेषले काठमाण्डौ गएको पत्रकार सम्मेलनमा नर्घो गाविसका पूर्व अध्यक्ष प्रमानन्द यादवले जानकारी दिए । उनका अनुसार काठमाण्डौबाट फर्किने क्रममा बुधवार उनलाई बर्दिबासबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेका यादवलाई अदालतमा शुक्रवार भारतीय रुपैयाँ कारोबारको आरोपमा म्याद थप गराउन लगिएकोमा उक्त दिन समय अभावका कारण म्याद थप नभएकोमा पुनः अर्को पटक पेश गर्दा कर्तव्य ज्यान मुद्दामा म्याद गराइएको स्थानीयवासिन्दाहरुले आरोप लगाएका छन् । प्रहरीले उनीमाथि झुठा आरोप लगाई फँसाउन खोजेको पूर्व गाविस अध्यक्ष यादवले पत्रकार सम्मेलनमा बताए ।
यसैगरी उनलाई मोटरसाइकलसहित पक्राउ गरेको भनी प्रहरीले विभिन्न सञ्चारमाध्यममा सूचना सम्प्रेषण गरेको कुरा गलत रहेको नर्घो गाविसका निवर्तमा अध्यक्ष मुसहरु यादवले बताए । प्रहरीले ल्याएको मोटरसाइकल स्थानीय सन्तोष यादवको घरबाट ल्याएको उनले जानकारी दिए ।
सोही घटनामा हेमनारायण, धर्मनारायण, सन्तोष यादवलगायतको घरमा प्रहरीले छापामारी गर्नुका साथै त्यसक्षेत्रका बासिन्दाहरुलाई अनावश्यक रुपमा मानसिक यातना दिने काम गरिरहेको सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष अध्यक्ष कमलदेव यादवले बताए । अशोक निर्दोष रहेको भन्दै उनलाई रिहाई गर्न स्थानीयवासिन्दाहरुले माग गरेका छन् ।
जिल्लाको झुटकी, बनैनियाँ, नर्घो, फकिरा, सिम्राहा–सिंगियोन गाविसका वासिन्दाहरुले सोमवारै सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट र प्रहरी भीम ढकालसँग भेटेर पक्राउ गरिएका व्यक्तिलाई तत्काल रिहाई गर्न माग गरेका छन् । आफूहरुको आग्रहलाई बेवास्ता गरिए त्यसक्षेत्रका गाविसका जनताले बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी उनीहरुले दिएका छन् ।
नर्घो गाविस–६ स्थित झौहरा हाटबाट पैदल कार्यालयतर्फ जाँदै गरेको अवस्थामा उक्त बजारबाट करिब सय मिटर उतर कल्भर्टमा पुग्दा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले सई सुब्बालाई गोली हानी गम्भिर घाइते बनाएकोमा उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यू भएको थियो ।