राजविराज, २ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा मधेशी मोर्चा सप्तरीले शनिवार राजविराजमा लाठी जुलुस प्रदर्शन गरेको छ ।
स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको लाठी जुलुस राजविराजको विभिन्न भाग गरेको थियो । चर्का नाराबाजी गर्दै उक्त जुलुस नगर परिक्रमा पश्चात स्थानीय सहीद दशन चौकमा विरोधसभामा परिणत भएको थियो ।
शान्तिपूर्ण आन्दोलन छैठों महिनामा प्रवेश गर्दा पनि राज्यपक्ष मधेश आन्दोलनको माग प्रति सम्वेदनशील नरहेको भन्दै वक्ताहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्नुपर्नेमा जोड दिए । शान्तिपूर्ण आन्दोलनबाटै मधेशी जनताले आफ्नो हक अधिकार सुनिश्चित गराउने भन्दै अधिकारप्राप्तिकालागि मधेशका जनता जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।
मधेशी मोर्चाका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित विरोधसभामा तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सचिव बौवालाल शर्मा, संघीय समाजवादी फोरम नेपालका नेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादव, क्षेत्रीय संयोजक बैजनाथ यादव ‘बैजु’, युवा फोरमका जिल्ला अध्यक्ष विशाल यादव, नेकपा–माओवादी दलित मुक्ति मोर्चाका विशेश्वर मण्डल, सदभावना पार्टीका नगरअध्यक्ष अमरकान्त झा, युवा विद्यार्थी मोर्चाका सल्लाहकार शम्भु यादव, नेकपा माओवादीका आशिष सिंह, महिला मञ्चकी जिल्ला अध्यक्ष पूनम यादव, संघीय समाजवादी फोरमकी रमिला साह, मोर्चा नगर सदस्य मनोेज राउत, युवा विद्यार्थी मोर्चाका नगर सदस्य दिनेश साह, मलेठ मोर्चाका संयोजक रामकिसुन साहलगायतले सम्बोधन गरे 
