राजविराज, २९ पुस । थारु कल्याणकारी सभा सप्तरीले आन्दोलनकै रुपमा माघी महोत्सव मनाउन लागेका छन् ।
सभाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै थारु समुदायको हक, अधिकार तथा पहिचानको संघर्ष रहेको भन्दै आन्दोलनकै रुपमा महोत्सव मनाउन लागेको जनाएका हुन् । साँस्कृतिक आन्दोलनका क्रममा माघ १ गते जिल्लाको हर्दिया गाविस वडा नम्वर–१ भेडियामा माघ १ गते शुक्रवार महोत्सव मनाउन लागेको जनाइएको छ ।
साँस्कृतिक आन्दोलनका क्रममा झाँकी प्रदर्शन, थारु संस्कृति कार्यक्रम, थारु खाना परिकार प्रदर्शन, अवलोकन एवम् स्वाद ग्रहण, थारु पहिरण, संस्कृति प्रदर्शन, प्रवेश खुल्ला, स्टलहरुको व्यवस्था र मन्तव्य तथा सम्मानलगायतका कार्यक्रमहरु आयोजना गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ । स्थानीय श्रोत साधनको प्रयोगमा बल पुर्याउन तथा पर्यटकीय रुपमा टेवा पुर्याई साँस्कृतिक पहिचानलाई स्थायित्व दिनु, आर्थिक उन्नतीमा सहयोग पुग्नु एवम् राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान कायम गराउने उद्देश्यकासाथ माघी महोत्सव आयोजना गर्न लागिएको संयोजन तथा व्यवस्थापन समितिका सचिज देवनारायण चौधरीले जानकारी दिएका छन् ।