मोरङ्ग, २७ पुस । सद्भावना पार्टीले घोषणा गरेको संकल्प कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
सोही कार्यक्रम अन्तर्गत सद्भावना पार्टीले विराटनगरको बुधहाट चोकस्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा सोमवार संकल्प कार्यक्रमको समापन गरेको हो । साताव्यापी कार्यक्रमअन्तर्गतको अन्तिम कार्यक्रमको रुपमा राखिएको उपवास कार्यक्रमलाई सम्पन्न गर्दै सहभागीहरुले संकल्प कार्यक्रमको समापन गरेका छन् ।
उपवास कार्यक्रमअन्तर्गत ३३ जना नेता तथा कार्यकर्ताहरु दिनभरि उपवास बसेको सद्भावना पार्टीको मोरङ्ग अध्यक्ष चन्द्रप्रसाद राजवंशीले जानकारी दिए ।. उनले संकल्प कार्यक्रम समापन गरिए पनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नेतृत्वको आन्दोलनका कार्यक्रमहरु भने जारी रहने बताए । समापन कार्यक्रममा सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डल, केन्द्रीय सदस्य दिलीप धाडेवासहितका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।