वीरगञ्ज, २७ पुस । जारी मधेस आन्दोलनका गम्भिर घाइते मन्सी पटेलको अवस्था गम्भिर हुँदै गएको छ ।
उनका बुवा रामचन्द्र राउत कुर्मी, पटेलकी पत्नी शान्ती देवी र भाइ बच्चा पटेलले आइतवार वीरगञ्जमा सञ्चारकर्मीहरु मार्फत उपचारको व्यवस्थापन मिलाइदिन सम्पुर्ण सरोकारवालाहरुसँग आग्रह गरेका छन् । बिगत ३ महिना २३ दिनदेखि अस्पतालको शैय्यामा नै उपचार गराईरहेका छन् ।
एक महिना २१ दिन वीर अस्पताल, दुई महिना स्पाइन्लन अस्पताल र हाल सुष्मा कोइराला अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण छोराको उपचार राम्रोसँग नभएको बताउँदै गोली लागेको कारण मेरुदण्डको नशामा समस्या देखिएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । 
अस्पतालमा घाउको डे«सिङ्ग मात्र हुने गरेको दुखेसो मन्सीका बुवा रामचन्द्र राउतले सुनाए । अस्पतालमा सुत्दा–सुत्दै मन्सी पटेलको कम्मरमा घाउ समेत भइसकेको जानकारी दिँदै उनले जारी मधेस आन्दोलनको नेतृत्व गरिरहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघिय समावेसी मधेसी गठबन्धनका नेताहरु पटेलको उपचार प्रति गम्भिर नभएको आरोप लगाए । मोर्चा र गठबन्धनका नेताहरु गफ मात्र गर्ने गरेको पटेलको श्रीमती शान्ति देवीको आरोप छ । अस्पतालमा बसेका कुरुवा र बिरामीहरुलाई खान र बस्न समेत ग्राह्रो भएको उनले पत्रकारहरुसँग गुनासो गरिन् ।
उपचारमा संलग्न डाक्टरहरुका अनुसार मन्सी पटेलको उपचार भारतको कुनै राम्रो अस्पतालमा गर्न सके उनी चाडै निको हुने बताएका छन् । मन्सी पटेलको आर्थिक अवस्था एकदम नाजुक भएकोले मन्सीका परिवारले मधेसवादी दल, नागरिक समाज, संघ संस्था र मधेसप्रेमी जनतासँग उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका छन् । पर्सा जिल्ला गाविस बगही वडा नम्वर– ३ निवासी पटेललाई असोज ३ गते अर्थात नेपालको संबिधान २०७२ जारी भएकै दिन प्रर्दशनकारी र प्रहरी बिच माईस्थान चौकमा झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर गम्भिर घाइते भएका थिए ।