राजविराज, २६ पुस । जारी मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सप्तरीका सहीद परिवारलाई प्रवासी नेपालीले पठाएको सहयोग रकम आइतवार हस्तान्तरण गरिएको छ ।
अमेरिकामा बस्दैआएकी सङ्गीता झा, अञ्जय श्रेष्ठ, आयुष श्रेष्ठ, अभिशेष झा र डा. अर्चना कायस्तले संयुक्त रुपमा पचास हजार रुपैयाँ पठाएका हुन् । उनीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी सप्तरीका ६ जना सहीद परिवारकालागि उपलब्ध गराएका थिए ।
अमेरिकाबाट पठाइएको उक्त रकम जमुनीमधेपुरा–९ का सहीद नागेश्वर यादवका परिवारजनलाई आइतवार हस्तान्तरण गरिएको छ । मधेशी मोर्चाका क्षेत्रीय संयोजक समेत रहेका युवा नेता लक्ष्मण यादवले सहीदको जन्मस्थानमै पुगेर सहीद नागेश्वरका आमा र छोरीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । उक्त अवसरमा बौद्धिक समाज सप्तरीका संयोजक प्रा. अमरकान्त झा, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवलगायत स्थानीयवासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।
यस अघि गत आइतवार राजविराज नगरपालिका–१ निवासी दिलिप कुमार साह र जमुनी मधेपुरा–४ प्रसाही टोलका शिबशंकर दासका परिवारजनलाई समेत प्रति परिवार ८ हजार ३ सयका दरले उपलब्ध गराईसकेका छन् । यस्तै गत बुधवार भारदहका सहीद राजिव राउत, पोर्ताहाका रामकृष्ण राउत र डाढा गाविस–७ बलिया–बथनाहाका सहीद बिरेन्द्र रामका परिवारलाई रकम हस्तान्तरण गरिएको छ ।