राजविराज, २४ पुस । सप्तरीको कल्याणपुर–३ का राजनीतिकर्मी मो. उस्मान मियाँले आफूलाई प्रहरीले डा. सिके राउतको कार्यकर्ता भएको भन्दै पक्राउ गरी यातना दिएको बताएका छन् ।
आफूलाई दुई दिनसम्म प्रहरी हिरासतमा राखेर खान र ओढ्ने ओछ्याउनेसम्म नदिई मानसिक यातना दिएको उनले जानकारी दिए । आफूलाई बुधवार दिउँसो सशस्त्र प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय कडरबोनाको जिम्मा लगाएको बताउँदै उनले भने ‘मलाई फोन गरेर मा.बि. बनरझुलामा डा. सिके राउतको कार्यक्रम छ भन्दै ११ बजे आउन भन्यो, धेरै फोन गरेपछि दुई बजे मात्र आउँछु भने ।’
माबि बनरझुलाको गेटमा पुगेपछि सशस्त्र प्रहरीको गाडीमा घचेटेर बसाई इलाका प्रहरी कार्यालय कडरबोनाको जिम्मा लगाएको उनले बताए । ‘तिमी राउतको सङ्गगठनको प्रशिक्षक हो, साँचो कुरा बताउ नत्र करङ्ग भाँचिदिन्छु भन्दै हात उठाउँदै मैले रोके’ नेता उस्मानले भने ‘कडरबोना लगेर सशस्त्रका ईन्सपेक्टरले मलाई जिम्मा लगाएर फर्केपछि थुनुवा कोठामा बन्द गरिदियो ।’ साथमा रहेको मोबाइल समेत खोसेर लिएको जानकारी गराउँदै उनले रातभरि खान तथा ओढने ओछ्याउनेसम्म नदिई चिसो भुइँमा रात कटाउनुपरेको पीडा सुनाए ।
पक्राउ परेको भोलीपल्ट पुस २३ गते आफू भोकले छटपटाउन थालेकोले खाना माग्दा नदिएको बताउँदै नेता उस्मानले भने ‘सबै प्रहरी खाना खाईसकेपछि मात्र मलाई खाना खानु छ भने पैसा तिर्नुपर्छ भन्दै बचेको खानाको ७० रुपैया ँतिरेपछि मात्र भात खान दियो ।’ राती ९ बजेको समयमा आफूसँग जबरजस्ती कागजमा हस्ताक्षर गराएर खर्चुहिया लगेर छाडिदिएको उनले सञ्चारकर्मीहरुलाई जानकारी गराए । आफूलाई बिना कारण प्रहरीले पक्राउ गरी हिरासतमा राखेर चरम पीडा दिएको भन्दै अन्यायमा परेको भन्दै मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाजलगायत सरोकारकारवाला निकायसँग न्यायकालागि पहल गरिदिन आग्रह गरेका छन् ।