वीरगञ्ज २३ पुस । नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले मुख्य राजनीतिक दलको लापरवाहीले मधेश आन्दोलन सिमा–नाकासम्म पुगेको बताएका छन् ।
वीरगञ्जको माईस्थान स्थित हिमाञ्चल केबिनमा नेपाल प्रेस युनियन केन्द्रीय मधेश विभागद्वारा आयोजित मधेश आन्दोलन र पत्रकारहरुले भोग्नु परेको समस्या विषयक अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । उनले मधेशीहरुको मांग जायज रहेकोले सरकारले छिट्टै मधेश आन्दोलनको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
पुर्व अध्यक्ष झाले अहिलेको जस्तो संक्रमणकालिन अवस्थामा मिडियाहरु राजनीतिक दलहरुको पात्र बन्ने प्रवृत्ति भएका कारण असुरक्षित हुने बताउदै तथ्यपरक र यथार्थपरक पत्रकारिता गर्न सुझाव दिए । उनले यथार्थ धरातलमा रहेर तटस्थ भइ समाजको हितमा कलम चलाउनु पर्नेमा उनले जोड दिए ।
मधेश आन्दोलन भईरहँदा आफुले पत्रकार दुवै तर्फबाट असुरक्षित रहेको भन्दै पहिचानको आधारमा शक्ति सन्तुलन गर्न आन्दोलन भइरहेकोले आन्दोलनप्रति नकारात्मक धारणा नबनाउन आग्रह गरे । आन्दोलनका समयमा केही तत्वबाट विकृति, विसङ्गगतिका घटना उत्पन्न हुने बताउनुहुँदै सबै पत्रकार एक भएर यस्ता घटना रोक्नुपर्ने बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक शितल महतो, पुर्व अध्यक्षहरु दिपेन्द्र चौहान, अशोक तिवारी, शत्रुघन नेपाल, प्रेस युनियन पर्साका अध्यक्ष पुरुषोत्तम सिंह भट्टराईलगायतले आ–आफनो मन्तव्य व्यक्त गरेका थिए भने नेपाल पत्रकार महासंघ पर्साका पार्षद रितेश त्रिपाठीले कार्यक्रमको सहजिकरण गरेका थिए ।
यसैगरी विहीबार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झालाई जितपुर, सिमरा, पथलैया, अमलेखगंज लगायतका स्थानबाट पत्रकारिता गर्दै आएका बाराका पत्रकारहरुले बाराको सिमरा विमानस्थलमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानिय समस्याका बारेमा अवगत गराउँंदै बाराली पत्रकारहरुले भोग्नु परेको समस्याका बारेमा ध्यानाकर्षण गराएका छन् । पत्रकार महासंघको केन्द्रिय नेतृत्वको गलत रवैयाले मधेशका पत्रकारहरुले दुःख पाएको गुनासो समेत संचारकर्मीहरुले गरे । बाराको सिमरा विमानस्थलमा रहेको अति विशिष्ट कक्षमा आयोजित अन्तरक्रिया कार्यक्रम नेपाल प्रेस युनियन बारा शाखाका अध्यक्ष गणेश रिजालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।