राकेश साह
वीरगञ्ज, २३ पुस । शहिद दिनानाथ साह गोंडको सुपुत्रको विहीबार वीरगञ्जमा ऐतिहासिक छठिहार भव्य समारोहका बीच सम्पन्न भएको छ ।
शहिद दिनानाथकी पत्नी सोनी देवीले पुस १९ गते वीरगञ्ज स्थित नारायणी अस्पतालमा छोरालाई जन्म दिए लगतै मधेसी जनताले शहीदपुत्रको उज्जवल भबिष्यको कामना गर्दै मिठाई बाँड्दै आएका छन् । जारी मधेस आन्दोलनको क्रममा गत भदौ १५ गते वीरगंज प्रतिमा चौकमा सहादत प्राप्त गरेका बारा जिल्ला नौतन निवासी वीर शहीद दिनानाथ साह गोंडको छोराको छैठो दिनको अवसरमा वीरगञ्जको माईस्थानमा छठिहार मनाइएको हो ।
स्थानिय मधेसी बुद्धिजिवी तथा मधेस समाजको बिशेष पहलमा मनाईको छठिहार कार्यक्रममा शहीद दिनानाथका बुवा शिव पुजन साह, आमा कान्ती देवी साह, पत्नी सोनी देवी लगायत स्थानिय नेता, कार्यकर्ता तथा सर्वसाधारण जनताको उल्लेखनीय सहभागिता रहेको थियो । 
कार्यक्रमको शुरुवात गहवा माईसँग शहीदपुत्रको उज्जवल भविष्यको कामनाको गर्दै प्रार्थना गरी भोजपुरी भाषामा छठिहारको गीत गाएर शुभारम्भ गरिएको थियो । कार्यक्रममा शहिद पुत्रलाई बधाई तथा कोसेली दिनेको घुइँचो लागेको थियो । 
कार्यक्रममा उपस्थित सर्वसाधारणहरुलाई प्रसाद स्वरुप खीर वितरण गरिएको थियो । कार्यक्रममा रबिन्द्र सर्राफले कक्षा १० सम्मको पढाईको खर्च दिने घोषणा गरेका छन् भने भुलन साहले उच्च शिक्षामा लाग्ने खर्च उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त अवसरमा मोनिका सिंह, रेखा रौनियार, मनोज साह गोंड, प्रमा साह गोंड, सलमा खातुन, रेखा साहलगायतले बिशेष सहयोग गरेका छन् । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी जयमोद ठाकुरले गरेका थिए ।

