पुस २२ पर्सा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, जनजाति, मुस्लिमलगायतका समुदायले अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
फोरम नेपाल पर्साले आयोजना गरेको पार्र्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । वर्तमान सरकारले अझैंं मधेशी जनतालाई गुुलाम बनाएर राख्न खोजेको बताउँदै उनले भने ‘मधेसी, जनजाति, मुस्लिमलगायतका समुदायले अधिकार नपाएसम्म आन्दोलन जारी रहन्छ, यो आन्दोलनलाई चाहेर पनि कसैले रोक्न सक्दैन ।
शान्तिपूर्ण आन्दोलनकै जगबाट राज्यसत्तालाई माग सम्बोधन गर्न बाध्य पार्ने बताउँदै आन्दोलनलाई थप सशक्त बनाउन आ–आफ्नो स्थानमा सहभागिता जनाउन आग्रह गरे । मधेशी मोर्चाले पेस गरेको ११ बुँदे माँग सम्वोधन नभएसम्म आफूहरु रतिभर पछाडि नहट्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सोही कार्यक्रममा फोरम नेपालका सांसद लालबाबु राउतले नेपाली कांग्रेसले ल्याएको २ बुँदे संविधान संशोधनले मधेशको माग पुरा नहुने बताए । वर्तमान सरकार घोर मधेश विरोधी भएको भन्दै मधेश आन्दोलनलाई बन्दुकको दबाउन खोजेको भन्दै मधेशी युवाहरु सजग बन्नुपर्नेमा उनले जोड दिए ।
सोही कार्यक्रममा नेकपा एमाले, नेपाली काग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि पुर्व गाविस उपाध्यक्ष विसुनदेव राउत कुर्मी, जयनारायण पटेल, छोटेलाल कुर्मीलगायतको नेतृत्वमा एक सय भन्दा बढीले संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । कार्यक्रममा फोरमका केन्द्रिय सदस्य रामकिसोर यादव, विरेन्द्र यादव, विन्देश्वर यादव, बालकिशोर यादव, जिल्ला अध्यक्ष प्रदिप यादव लगायतको सहभागिता रहेको थियो ।