• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीका सहीद परिवारलाई आर्थिक सहयोग

राजविराज, १९ पुस । जारी मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सप्तरीका सहीद परिवारलाई प्रवासी नेपालीले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
अमेरिकामा बस्दैआएकी सङ्गीता झा, अञ्जय श्रेष्ठ, आयुष श्रेष्ठ, अभिशेष झा र डा. अर्चना कायस्तले संयुक्त रुपमा पचास हजार रुपैयाँ पठाएका हुन् । उनीहरु व्यक्तिगत रुपमा रकम संकलन गरी सप्तरीका ६ सहीद परिवारकालागि उपलब्ध गराएका छन् ।
अमेरिकाबाट पठाइएको उक्त रकम आइतवार राजविराज नगरपालिका–१ निवासी दिलिप कुमार साह र जमुनी मधेपुरा–४ प्रसाही टोलका शिबशंकर दासका परिवारजनलाई बौद्धिक समाज सप्तरीका संयोजक प्रा. अमरकान्त झाले प्रति परिवार ८ हजार ३ सयका दरले उपलब्ध गराएका छन् ।DSC05002 प्रा. झासहितको टोलीले सहीद साहकी पत्नी पूनम साह र सहीद दासका पिता नारायण दासलाई उक्त रकम उपलब्ध गराउँदै सहानुभूति प्रकट गरेका छन् । उक्त टोलीमा पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयका पूर्व प्राचार्य नथुनी दास, मधेशी पत्रकार संघ सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवलगायतका व्यक्तिहरु सहभागी थिए ।
यसैगरी भारदहका सहीद राजिव राउत, पोर्ताहाका रामकृष्ण राउत, डाढा गाविस–७ बलिया–बथनाहाका सहीद बिरेन्द्र राम र जमुनी मधेपुरा–९ छपकीका सहीद नागेश्वर यादवको घरैमा पुगेर दुई दिनभित्रै उक्त रकम उपलब्ध गराइने समाजका संयोजक प्रा. झाले जानकारी दिएका छन् ।