• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आन्दोलनलाई बन्दुकले दबाउन खोजिए हतियारको आन्दोलन हुनसक्छः सह–अध्यक्ष कर्ण

आन्दोलनलाई बन्दुकले दबाउन खोजिए हतियारको आन्दोलन हुनसक्छः सह–अध्यक्ष कर्ण

राजविराज, ११ पुस । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले मधेश आन्दोलनलाई राज्यले अझैं बन्दुकबाट दबाउने क्रम नरोकिए हतियारको आन्दोलन हुनसक्ने चेतावनी दिएका छन् ।
राजविराजको सामुदायिक रेडियो छिन्नमस्ता एफएमबाट प्रशारित रेडियो कार्यक्रममा प्रस्तोता श्यामसुन्दर यादवसँग कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । शान्तिपूर्ण मधेश आन्दोलन संसारमै एक अदुभूत एवम् उदाहरणीय आन्दोलन भएको बताउँदै उनले भने ‘जनताको शान्तिपूर्ण आन्दोलनलाई जहाँजहाँ निरन्तर उपेक्षा गरेको छ, त्यहाँ हतियार उठेको छ र देश बर्वाद भएको छ मधेश आन्दोलनलाई राज्यले अझैं बन्दुकबाट दबाउने क्रम जारी राखे हतियारको आन्दोलन शुरु हुन्छ, यसले कसैको हित गर्दैन ।’
करिब साढे चार महिनाको लामो मधेश आन्दोलनलाई राज्यपक्षले सम्बोधन गर्नुका साटो बन्दुकले दबाउने काम गर्दै आए पनि मधेशी जनताले हालसम्म धैर्यताका साथ सहँदैआएको सह–अध्यक्ष कर्णले बताए । मधेशी जनतालाई राज्यपक्षले शत्रुवत व्यवहार गर्दैआएको चर्चा गर्दै उनले भने ‘मधेशी जनतामाथि बन्दुकको गोलीले दमन तथा बोलीले उपहास गर्दैआए पनि हालसम्म नेपालभित्रै समानता र न्यायपूर्ण आन्दोलन गरिरहेको छ ।’ laxmanlal-karna
हालसम्म सरकारसँग भएका वार्ताहरुमा राज्यपक्षसहित ठूला दल शासकीय अहंकारबाट प्रस्तुत भइरहेको तथा मधेशका मागलाई सम्बोधन गर्न नचाहेको उनले अनुभव सुनाए । सिमाङ्कनको विषयमा अझैं पनि तीन ठूला दल प्रष्ट नभएको प्रष्ट्याउँदै नेता कर्णले भने ‘तीन महिनाभित्र सिमाङ्कनको टुङ्गो लगाउने रटान लगाउँदैआएको छ, राज्यले विगतमा तमसुक गरेर पनि पालना नगरेकोले मधेशी जनतालाई सरकारमाथि विश्वास छैन ।’ राज्यले विश्वासको आधार र वातावरण बनाए दश बीस दिनसम्म कुर्नसक्ने तर आफूहरु अब फर्जी तमशुक बनाउने पक्षमा नरहेको उनले प्रष्ट पारे ।
मधेशको विषयमा प्रधानमन्त्री केपी शर्माले ओलीले सुनसरीमा दिएको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै नेता कर्णले कुनै व्यक्ति विशेषले भन्दैमा केही फरक नपर्ने प्रष्ट पारे । ‘यो देश ओलीको पुख्र्यौली सम्पति होइन, के दिने वा नदिने ? भन्ने कुरा कसैले भन्दैमा केही फरक पर्दैन’ उनले भने ‘बरु ओलीको बोली गर्दै गर्दा नै आन्दोलनले थप उँचाई पाएको छ ।’
मधेशका हरेक बच्चा लडाकु बन्न तयार भइसकेको दावी गर्दै नेता कर्ण भने ‘मातृभूमी मधेशकालागि हरेक मधेशी जनता जस्तोसुकै लडाई लड्न मधेशका बच्चा–बच्चा तयार छ, मधेशको एक ईञ्च भूमी पनि छाड्दैनौं ।’ देशका कुनै पनि नागरिकलाई मृत्यूदण्ड दिने अधिकार संविधानले नदिएको भन्दै सह–अध्यक्ष कर्ण भने ‘आन्दोलनमा मारिएकाहरुलाई प्रायःजसो ढाडभन्दामाथि नै गोली हानिएको छ, यसरी निहत्था जनतालाई मृत्यूदण्ड दिनेहरुलाई पनि कानूनको कठघरामा उभ्याउन हामी प्रयासरत छौं ।