राजविराज, १० पुस । अधिकार प्राप्तिको निर्णायक मधेश आन्दोलनलाई थप सशक्त बनाउन घोषित कार्यक्रमहरुमा सहयोग तथा सहभागिताका लागि मधेशी मोर्चा सप्तरीले आग्रह गरेको छ ।
मोर्चाका सप्तरी संयोजक कपिलदेव यादवको अध्यक्षतामा शुक्रवार बसेको बैठकले यस्तो आग्रह गरेको हो । पुस ११ गते वृहत विरोध सभा, १३ गते युवा विद्यार्थीद्वारा गजेन्द्र चौकमा मधेश क्रान्ति साँस्कृतिक कार्यक्रम र १५ गते वृहत लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेकोले उक्त कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउन मोर्चाले आग्रह गरेको छ ।
सर्वसाधारण जनताको पीरमर्कामा ध्यानमा राखी हप्ताको एक दिन मात्र सोमबार सम्पूर्ण बैंकलाई खोल्ने तथा कुनै किसिमको अवरोध नगर्न मोर्चाले निर्णय गरेको सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले प्रेस विज्ञप्ति मार्फ जानकारी गराएका छन् ।
मोर्चाको बैठकले जिल्लामा रहेका सम्पूर्ण सरकारी, गैर सरकारी, अर्ध सरकारी कार्यालय तथा संघ संस्थाहरु पूर्ण रुपमा बन्द रहेकोले सो कार्यालय तथा संघ संस्थाहरु अझै पूर्ण रुपमा बन्द तथा ठप्प गरी निर्णायक यस मधेश आन्दोलनलाई उचाईमा पु¥याउन सहयोग गरि दिन अपील गरेको छ । मोर्चाको निर्णय विपरित कुनै सरकारी तथा गैर सरकारी कार्यालय सञ्चालन गरिएमा त्यसमा हुने क्षतिको जिम्मेवार स्वयं सो कार्यालयहरु हुने जनाईएको छ ।
प्रहरीद्वारा पत्रकार अवधेश झामाथि भएको आक्रमणको घोर निन्दा गर्दैै राज्यबाट चौथो अङ्गमाथि भएको प्रहार घोर निन्दनीय खेद पूर्ण रहेको भन्दै दोषीमाथि कडा कारवाही गर्न मोर्चाले माग गरेको छ । आन्दोलन निरन्तर जारी रहेको र उचाईमा पुगिरहेको आन्दोलनलाई अझंै उचाईमा पुरयाउन सबैसँग अपील गरेको छ ।