राकेश साह
वीरगञ्ज, ६ पुस । स्थानिय प्रहरी प्रशासनले गरेको ज्यादती बिरुद्ध संघिय समावेसी मधेसी गठबन्धन पर्साले आज (सोमवार) वीरगञ्जमा फट्ठासहितको खबरदारी जुलुस प्रर्दशन गरेको छ ।
वीरगञ्जको घण्टाघरबाट निस्केको उक्त जुलुस मधेसी एकता जिन्दावाद, मधेसको माग पुरा गर, मधेसीहरुलाई जनावर भन्न पाईदैन, प्रहरी प्रशासनको ज्यादती बन्द गरलगायतका नाराहरु लगाउदै नगर परिक्रमा गरी पुनः घण्टाघरमै पुगी सभामा परिणत भएको छ । गठबन्धन पर्साका संयोजक सरीफ अहम्दको अध्यक्षतामा आयोजित सभालाई सम्बोधन गर्दै गठबन्धनका नेता एवं नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले अधिकार प्राप्तिको लागि जारी मधेस आन्दोलनको सवा चार महिना बितिसक्दा पनि वर्तमान सरकार आन्दोलनको सम्बोधन गर्नुको साट्टो उल्टै सरकार प्रमुख केपी ओलीले मधेसमा जारी आन्दोलन जनावरहरुले गरेको भनी दिएको अभिव्यक्ति वहाँको मानसिक असन्तुलन भएको बताए । यो आन्दोलन अझ मधेसीहरुको लागि अस्मिताको लडाइ भएकोले दुःख कष्ट भएता पनि आन्दोलनमा उत्साहका साथ सहभागि हुन आम मधेसी जन समुदायसँग उनले आग्रह गरे । 
सभामा महिला नेतृ पुर्वमन्त्री करिमा वेगम, गठबन्धनसँग आवद्ध मुनी श्रीवास्तव, राष्ट्रिय मधेश समाजवादी पार्टी पर्साका सचिव धर्मेन्द्र पटेल, नेसपा पर्साका अध्यक्ष मनोज कर्ण, प्रवक्ता सुजित त्रिपाठी, तमरा अभियान पर्साका धन्जीव मिश्रा, ,संघिय समावेसी मधेसी युवा गठबन्धन पर्साका संयोजक ईश्वर यादव, सल्लाहकार ओमप्रकाश सर्राफ लगायतले सम्बोधन गरेका छन् भने कार्यक्रमको सञ्चालन उमेशलाल सहनीले गरेका छन् ।