राजविराज, ५ पुस । संघीय समाजवादी फोरम नेपालकी युवा नेतृ सांसद लक्ष्मी चौधरीले प्रमुख तीन दल शासकीय मानसिकताबाट ग्रसित रहेकोले मधेशी जनतालाई अधिकार दिन नचाहेको बताएकी छिन् ।
मधेशी मोर्चा सप्तरीद्वारा आइतवार राजविराज स्थित सहीद दशन चौकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशी थारुलगायत शोषित पीडित जनतालाई दास बनाएर शासन टिकाई राख्ने मानसिकताबाट ग्रसित रहेको बताउँदै उनले भनिन् ‘खस मानसिकताबाट ग्रसित प्रमुख तीन दल अझैं पनि मधेशी जनतालाई अधिकार दिन चाहेको छैन ।
विगत सवा चार महिनादेखि मधेशमा शान्तिपूर्ण आन्दोलन जारी रहेको चर्चा गर्दै मधेशी जनताको शालिनतापूर्ण आवाजलाई बेवास्ता गर्दैआएको उनले प्रष्ट्याइन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आफ्नो बटमलाइनबाट पछाडि नहट्ने दावी गर्दै सांसद चौधरीले भनिन् ‘आन्दोलनलाई सशक्त बनाउनुको विकल्प छैन, त्यसैले सशक्त आन्दोलनकै जगबाट शासकवर्गलाई झुकाउन आममधेशी जनता जाग्नु जरुरी छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादवको अध्यक्षतामा आयोजित सभामा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोक कुमार यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव, तराई मधेश राष्ट्रिय अभियानका केन्द्रीय सदस्य भोला मुखिया, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)की नेतृ साबित्री पंडित, नेकपा माओवादीका जिल्ला संयोजक जयप्रकाश यादव, मोर्चाका नगर संयोजक उमेश साह ‘कमाण्डो’, फोरमकी रमिला साह, तराई मधेश सद्भावना पार्टीका उपाध्यक्ष गोपाल झा, फोरम गणतान्त्रिकका जिल्ला सचिव अरबिन्द यादव, मलेठ मोर्चाका संयोजक रामकिसुन यादव, नेकपा माओवादीका आशिष सिंह, सदभावना पार्टीका ऋषिकान्त देवलगायतले सम्बोधन गरेका छन् । कार्यक्रम सञ्चालन मोर्चाका क्षेत्रिय संयोजक लक्ष्मण यादवले गरेका थिए । सोही सभामा काँग्रेसदारा संसदमा प्रस्तुत गरिएको समावेशी विधेयक जलाएको छ ।