वीरगञ्ज, ५ पुस । संघिय समावेसी मधेसी गठबन्धन पर्साको आइतवार सम्पन्न आकस्मिक बैठकले गौरमा भएको प्रहरी दमनको भत्र्सना गरेको छ ।
प्रहरीको गोलीबाट सहादत प्राप्त गरेका शेख तवरेजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै रौतहट र पर्सा जिल्लाको आन्दोलनमा प्रहरीले गरेको ज्यादतीको घोर भत्र्सना गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले काठमाडौंबाट प्रकाशित आइतवारको अन्नपुर्ण पोष्टको समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै सो समाचारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले आन्दोलनको क्रममा आन्दोलनकारीहरुले उद्योग र ट्रान्सपोर्टबाट अवैध रकम असुली गर्ने गरेको भनी दिएको अभिव्यक्ति प्रति गम्भिर आपती प्रकट गर्दै त्यसता कार्य गर्ने व्यक्ति ,संगठन, पार्टी वा मोर्चाबारे स्पष्ट पार्न चुनौती दिएको छ । स्पष्ट नगरिए आन्दोलनलाई बदनाम गराउन खोज्ने महासंघका अध्यक्ष बिरुद्ध गठबन्धनले कडा कदम चाल्ने निर्णय भएको बैठकमा सहभागि नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले बताए ।
बैठकले जारी सशक्त मधेस आन्दोलनमा सहयोग पुरयाउने सोमवार बिहान ९ बजे गठबन्धनले घण्टाघरबाट शान्तिपुर्ण प्रर्दशनकारीहरुमाथि प्रशासनले गरिरहेको ज्यादतीका बिरुद्ध खबरदारी फट्ठा जुलुस प्रदर्शन गर्ने र पुर्व निर्धारित कार्यक्रम अन्र्तगत दिउँसो १ बजे नारायणी रंगशालामा बन्द अवधि भरीको बिद्यालय शुल्कबारे अभिभावक भेला गर्ने निर्णय गरेको छ । गठबन्धन र आन्दोलनमा सहभागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्सा बिच कार्यगत एकता गरी अगाडी बढने प्रस्तावमा सकारात्मक छलफल भएको नेता पटेलले बताए ।
बैठकमा गठबन्धनका नेता अनिरुद्ध सिंह, जयमंगल सिंह, जादोलाल साह, सुधिरनाथ पाण्डे, मोहम्मद कदम रसुल, किसोरी यादव, धर्मेन्द्र पटेल, ईश्वर यादव, ओमप्रकास सर्राफ, संदीप चौरसिया, अजय मिश्रा, मुना सोनी ,धन्जीव मिश्रा, भागीरथ साह ,मुस्तकिम अंसारी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।