राजविराज, ५ पुस । जारी मधेश आन्दोलनलाई दबाउने नियतले आन्दोलनकारीहरुको मनोबल घटाउने रणनीति अन्तर्गत कार्यकर्ताहरुमाथि विभिन्न झुठा आरोपमा फँसाउने काम भइरहेको मधेशी मोर्चा सप्तरीले आरोप लगाएको छ ।
मोर्चाले आईतवार राजविराज जेसिजमा पत्रकार सम्मेलन आयोजना गरी यस्तो कुरा बताएको हो । मोर्चासँग आवद्ध राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आन्दोलनकारीहरुको मनोवल घटाउने षडयन्त्र अन्तर्गत नै आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएका कार्यकर्ताहरुलाई विभिन्न आरोपमा फँसाउने काम भइरहेको मोर्चाले धारणा सार्वजनिक गरेको छ ।
मोर्चाको आन्दोलनमा सक्रिय रहेका भारदह–१ का कृष्ण पापक, पोर्ताहा–६ का मनराज मण्डल र भारदह–९ का संजिव यादवलाई गत मंसिर २९ गते भारदह क्षेत्रमा भएको लुटपाटको घटनामा संलग्न भएको भन्दै पक्राउ गरेको मोर्चाले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले भने भारदह–८ निवासी श्यामदेव यादवले दिएको जानकारी अनुसार सप्तरीको जाँजर घर भई हाल सुनसरीको ईनरुवा वस्दै आएका एक प्रहरी जवान राजविराज आउने क्रममा मंसिर २९ गते राती भारदह क्षेत्रमा लुटिएको थियो । उनको साथवाट सञ्चय कोषवाट निकालिएको २ लाख ५० हजार रुपैयाँ लुटिएको जनाइएको छ ।
उक्त घटनापछि पुष १ गते उक्त क्षेत्रका युवाहरुलाई बोलाएर प्रहरीकै अगाडि दोषी चिनाउने काम पनि भयो । उपस्थितमध्ये कोही पनि घटनामा संलग्न नभएको भन्दै पीडितले नै उन्मुक्ति दिएका ब्यक्ती हाल पक्राउ परेको भन्दै उनले दुई दिनपछि प्रहरीले षडयन्त्रपुर्वक उनीहरुलाई फँसाएको मोर्चाको भनाई छ ।
संघिय समाजवादी फोरम नेपालका नेता शम्भु झाले चोरी, डकैती, लुटपाट, तस्करी लगायतका कुनै कुरामा मोर्चाले सहमति नजनाउने वताउँदै त्यस्ता घटनाको आवश्यक छानविन र दोषीमाथि कारवाही होस भन्नेमा मोर्चाले पनि चाहेको वताए । उनले भने–‘यद्यपी छानबिनकै वहानामा मोर्चामा आवद्ध कार्यकर्ताहरुलाई खोजी खोजी पक्राउ गर्नु घोर आपत्तिजनक छ, यसको हामी विरोध गर्छौ ।’
घटनाको वास्तविकता अध्ययन नै नगरी गलत आरोप लगाएर प्रहरीले मोर्चाको आन्दोलनलाई वदनाम गर्न खोजेको आरोप समेत उनले लगाए । ‘पक्राउ गरीएका तीनै जनाको ग्यारेण्टि मोर्चाले लिने भन्दै उनीहरु निर्दोष रहेको झाले बताए । पत्रकार सम्मेलनमा मोर्चाका संयोजक कपिलदेव यादव लगायतका मोर्चा आवद्ध दलका नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।