राजविराज, ४ पुस । आन्दोलनका कार्यक्रमलाई तिब्रता दिँदै मधेशी मोर्चाद्वारा सप्तरीको नर्घो गाविस स्थित झहुरा चौकमा शनिवार विरोधसभाको आयोजना गरियो ।
सभालाई सम्बोधन गर्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास कुमार तिवारीले शासकवर्गले सहज रुपमा मधेशको माग सम्बोधन गर्न नचाहेको भन्दै आन्दोलनलाई थप सशक्त पार्नुको विकल्प नरहेको बताए । वार्ताको नाममा नौटंकी मात्र भइरहेकोले अर्थहिन वार्ताको औचित्य नरहेको प्रष्ट पार्दै उनले भने ‘मधेशी नेताहरुले राजधानी छाडेर मधेशमै आएर आन्दोलन सशक्त बनाउनु जरुरी छ ।
मोर्चाको क्षेत्रिय समितिद्वारा सदभावना पार्टीका क्षेत्रिय अध्यक्ष कमलदेव यादवको अध्यक्षतामा आयोजित सद्भावना पार्टीका केन्द्रीय सदस्यद्वय राजेन्द्र प्रसाद यादव, विशेश्वर रजक, संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका प्रवक्ता बलराम यादव, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, मधेशी मोर्चा सप्तरीका संयोजक कपिलदेव यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झा, मधेशी जन अधिकार फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, फोरमका जिल्ला सदस्य केदार यादव, तराई मधेश राष्ट्रिय अभियानका रामदत्त साह, सद्भावना गजेन्द्रवादीकी साबित्री पंडित, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु कुमार यादवलगायतले सम्बोधन गरेको मोर्चाका प्रचार प्रसार विभाग संयोजक अमरनाथ मण्डलले जानकारी दिए ।