वीरगंज, २ पुस । संघीय समावेसी मधेसी गठबन्धन पर्साको राष्ट्रिय मधेस समाजवादी पार्टी कार्यालयमा विहीवार सम्पन्न बैठकले जारी मधेस आन्दोलनलाई अझ सशक्त बनाउन बिभिन्न निर्णयहरु गरेको छ ।
बैठकले नाकाबन्दीलाई सशक्त बनाउन नाकास्थलमा आम जनताको सहभागिता बढाउन र ग्रामिण भेगको नाकाहरुबाट भईरहेको तेल तस्करी नियन्त्रण गर्न कडाईका साथ पहल गर्ने र बन्द अवधिको शुल्कबारे निर्णय गर्न सोमबार वीरगंजमा अभिभावक भेला गर्ने निर्णय गरेको छ । बैठकमा बोल्दै गठबन्धनका नेता एवं नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले नाकाबन्दी स्थल मितेरी पुल लगायत ग्रामिण भेगका नाकाहरुमा पनि बिशेष ध्यान दिने बेला आएको बताए ।
तस्करहरुले ग्रमिण भेगका नाकाहरुको प्रयोग गरी दिनँहु राजधानी लगायत देशका बिभिन्न ठाँउहरुमा डिजल,पेट्रोल,ग्याँस लगायतको समाग्रीहरु पैठारी गरेकोले मधेस आन्दोलन लम्बिएको आरोप लगाए । तस्करहरुको कारण मधेसका जनता बदनाम भएको बताउदै अब यस्ता तस्करहरुलाई नछोडिने बताए ।
गठबन्धन पर्साको संयोजक शरीफ अहम्दको अध्यक्षतामा बसेको बैठकमा मोर्चाका नेताहरु , महाराज यादव, छोटेलाल यादव,मनोज कर्ण, प्रेम पटेल, महम्द कदम रसुल, कपिलदेव तिवारी, प्रमोद सिंह, सुधिरनाथ पाण्डे, किसोरी यादव, कृष्णा पटेल, उमेशलाल सहनी, अनिरुद्ध सिंह, हरेन्द्र ठाकुर, मधेसी युवा मोर्चाका संयोजक ईश्वरचन्द्र यादव, भरत सर्राफ, रोशन पटेल लगायतको सहभागिता रहेको थियो ।