राजविराज, २ पुस । सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम गराउनकालागि आवश्यक गृहकार्य गरेर सशक्त रुपमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सप्तरीका पत्रकारहरुसँग समसामयिक विषयवस्तुमा बिचारविमर्श गर्नका लागि विहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । जिल्लामा पेट्रोल, डिजेल, मट्टीतेल, ग्यासका साथै दैनिक उपभोग्य सामग्रीहरुको सहज आपूर्ती गराउन आफूहरु प्रतिवद्ध रहेको प्रष्ट पार्दै उनले भने ‘सप्तरी जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम गराउन आवश्यक गृहकार्य गरेर अगाडि बढ्नेछौं ।
लामो बन्द हड्तालले गर्दा बजारमा भइरहेको कालोबजारी, पेट्रोलमा मिसावट, चोरी, लागु औषधको कारोबारलगायतका गतिविधिहरु नियन्त्रण गर्न तत्काल ठोस कदम चाल्ने प्रमुख जिल्ला अधिकारी भट्टले प्रतिवद्धता व्यक्त गरे । जिल्लामा रहेका सरकारी कार्यालयहरुको सेवा सुविधालाई जनमुखी एवम् प्रभावकारी बनाउन समेत आवश्यक कदम चाल्ने उनले बताए ।
वर्तमान अवस्थामा मिडियाको भूमिका थप जिम्मेवार हुनुपर्नेमा जोड दिँदै उनले सानो समाचारले ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरी प्रशासनसँग समेत पत्रकारहरुको सूचनामा पहुँचलाई सहज बनाइने बताए । जिल्ला प्रशासन कार्यालयमा समेत सूचना अधिकारीको व्यवस्था गरिएको बताउँदै उनले भने ‘पत्रकार र प्रहरी प्रशासन बीच सूचनाको विषयमा दुरी नहोस् यसकालागि आवश्यक गृहकार्य गरेर अगाडि बढ्नेछौं ।
प्रत्येक महिनामा पत्रकारहरुसँग अन्तरक्रिया गरिने तथा उक्त अन्तरक्रियामा क्रमशः सरोकारवालाहरुलाई समेत राखिने प्रमुख जिल्ला अधिकारी भट्टले बताए । सोही अन्तरक्रियामा उनले करिब चार सातादेखि बन्द रहेको जिल्लाको स्वास्थ्य सेवा सुचारु गराउन आफूले व्यापक प्रयास थालेका जानकारी दिँदै चाँडै सकारात्मक परिणामा आउने जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा सप्तरी जिल्लाका राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उनीहरुले जिल्लामा देखिएका विभिन्न समस्याहरुबारे प्रमुख जिल्ला अधिकारी भट्टको ध्यानाकर्षण गराएका थिए । सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवणकुमार देवले सूचनालाई व्यवस्थित एवम् विश्वसनिय बनाउन आग्रह गरे । जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत जनक कोइरालासमेतको उपस्थिति रहेको थियो ।