वीरगंज, १२ मंसिर । शनिबार वीरगंजमा नेपाली कांग्रेसले गर्ने भनेको पूर्व घोषित कार्यक्रम आन्दोलनकारीहरुले बिथोलेका छन् । पार्टीको झण्डा बोकेर जुलुस निकाल्ने र कोणसभा गर्ने तयारी रहेको भएपनि संघीय समावेशी मधेशी गठबन्धन र मधेशी युवा मोर्चाले कार्यक्रम बिथोलेको छ ।
उनीहरुले कांग्रेसले नै मधेशविरोधी संविधान जारी गरेको भन्दै मधेशमा कांग्रेसको झण्डा फहरिन नदिने उदघोष पनि गरे । आन्दोलनकारीले कांग्रेसको झण्डा पनि जलाएका छन् । उनीहरुले कांग्रेसका मधेशी नेता कार्यकर्ताले साँच्चै मधेश आन्दोलनमा समर्थन जनाएको भए पार्टी परित्याग गरेर कालो झण्डा बोकेर सडकमा आउन अपिल गरे ।
यसअघि शुक्रबार इटहरीमा मधेशी मोर्चा र संघीय लिम्बुवान पार्टीले संयुक्त रुपले गर्न लागेको कार्यक्रम एमालेका कार्यकर्ताहरुले बिथोलेका थिए । नेकपा एमालेका कार्यकर्ताहरु सुनसरीको इटहरीमा हुन लागेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यक्रम विथोलेका छन् ।
शुक्रबार मधेशी मोर्चाका शिर्षस्त नेताहरुले सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थलमा एमाले कार्यकर्ताहरुले आगजनी गरेका छन् ।
संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिंदेनले दिएको जानकारीअनुसार एमालेको शिर्षस्त नेताहरुको डिजाइनमा उक्त कार्यक्रम विथोल्न लगाइएको हो । लिंदेनले यस क्षेत्रमा साम्प्रदायिक दंगा भड्काउन एमाले उद्धत रहेको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका नेताहरुले दिएको जानकारी अनुसार उक्त कार्यक्रम विथोल्नेमा एमालेसहित नेपाली काँग्रेस र एमाओवादीका कार्यकर्ताहरु पनि छन् ।
फोरमले सरकारले नै साम्प्रदायिक दंग भड्काउन लागेको आरोप लगाएका छन् ।
यता सद्भावना पार्टीका स्थानीय नेताहरुले दिएको जानकारीअनुसार मधेशी मोर्चाका कार्यकर्ताहरु पनि कार्यक्रम स्थल पुग्न लागेका छन् । हुलाकी न्यूज डट्कम