सप्तरी अपडेटः राजविराज, १२ मंसिर । जारी मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका चार जना शहीदहरुको शव अन्तिम श्रद्धाञ्जलीका लागि राजविराज ल्याईएको छ ।
मधेशी मोर्चा सप्तरीका संयोजक सुनिलकुमार झाको नेतृत्वमा शवहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम पश्चात सप्तरी ल्याइएको हो । मोर्चाले शनिबार र आइतबार आन्दोलनको क्रममा शहादत प्राप्त गरेका डाढा गाविसका बलिया–बथनाहा निवासी बिरेन्द्र राम ,जमुनी मधेपुरा–९ छपकी निवासी नागेश्वर यादव, जमुनी मधेपुरा ४ प्रसाही टोलका शिबशंकर दास र राजविराज नगरपालिका–१ निवासी दिलिप कुमार साहको संयुक्त शवयात्रा निकाल्ने निर्णय गरेको थियो ।
सहीदहरुको पार्थिव शरिर शनिबार विहान ७ बजेदेखि ८ बजेसम्म एक घण्टा गजेन्द्र चौकमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तथा सोही दिन बिहान ८ बजेदेखि सप्तरी सदरमुकाम राजविराज, रुपनी, शम्भुनाथ, कदमाहा हुँदै सिरहाको लहानस्थित शहिद रमेश चौकमा श्रद्धाञ्जली अर्पण गरी कञ्चनरुप नगरपालिका र भारदह, मंसापुर हुँदै राजविराजमा श्रद्धान्जली अपर्ण गर्दै शवयात्रा सम्पन्न गर्ने निर्णय भएकोमा पोष्टमार्टमको विषयमा भएको विवादका कारण केही ढिलाई भएको छ । राजविराज–१ निवासी साहलाई गोली नलागेको भनी सुरक्षा निकायले लिएको अडानले गर्दा उनको विशेष टोलीले पुनः पोष्टमार्टम गरेको छ ।
यसअघि गरिएको पोष्टमार्टमका क्रममा साहको टाउँकोमा दुई ओटा मेटल(धातु)को गोली पाइएको थियो । पुनः दोहो¥याएर पोष्टमार्टम गर्दा पनि टाउकोमा गोली लागेको पुष्टि भएपछि करिब ९ बजेमात्र धरानबाट शवहरुलाई सप्तरीका लागि प्रस्थान गरिएको थियो ।
जिल्लाको भारदह, हनुमाननगर, मन्सापुर, तोपा हुँदै ११.३० बजे उनीहरुको शव राजविराज स्थित गजेन्द्र चौक आइपुग्ने मोर्चाका संयोजक झाले जानकारी दिए । यता शहीदहरुलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि राजविराजमा हज्जारौं जनमानसको भीँड लागेको छ ।