• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चिकित्सकसहित स्वास्थ्यकर्मीहरुको धर्ना जारी

चिकित्सकसहित स्वास्थ्यकर्मीहरुको धर्ना जारी

प्रहरीले गल्तीसम्म स्वीकार्न चाहेको छैन ः डा. यादव

राजविराज, ११ मंसिर । चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपीट एवम् दुव्र्यवहारको घटनाको विरोध गर्दै जारी आन्दोलनको सम्बोधन हुन नसक्दा सर्वसाधारण जनता स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालभित्र प्रवेश गरी कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रहरी आइतवार निर्घात कुटपीट गरेको विरोधमा अस्पतालसहित जिल्लाभरिका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका हुन् । जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी तथा सरकारी कर्मचारीहरु संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता सोमवारदेखि निरन्तरता दिँदैआएका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीसहित कर्मचारीहरु विहीवारदेखि धर्नामा बसेका छन् ।
जिल्लाभरिका सम्पूर्ण स्वास्थ्य संस्थाहरु बन्द रहेका कारण सर्वसाधारण जनता स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । यद्यपी मानवीय सम्वेदनालाई मध्यनजर गर्दै अस्पताल परिसरमै पालमुनि आकस्मिक सेवा थालेर धर्नासहितका विरोध कार्यक्रमलाई उनीहरुले निरन्तरता दिएका छन् ।
अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निर्घात कुटपीट गर्ने आदेश दिने सशस्त्र र नेपाल प्रहरीका एसपीहरुको निलम्बन, घाइतेहरुको निःशुल्क उपचार र शान्तिसुरक्षाको सुनिश्चितालगायतका मागहरु राखेर विगत चार दिनदेखि उनीहरु आन्दोलनमा उत्रेका छन् ।
आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने संघर्ष समितिकी संयोजक समेत रहेकी अञ्चल अस्पतालकी निमित मेसु डा. दीपा यादवले बताइन् । आफूहरु वार्ताबाटै समस्याको निकास खोज्न तयार रहे पनि प्रहरी प्रशासनले नै गम्भीरतापूर्वक नलिएको उनले बताइन् । अस्पतालमा चिकित्सकसहित कर्मचारीहरुमाथि गरिएको घोर अमानवीय व्यवहारको विषयमा प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले स्वीकारसम्म नगरी विभिन्न भ्रामक प्रचारबाजी गरिरहेको उनले न्यूज टुडेसँग प्रतिक्रिया दिँदै उनले भनिन् । शुक्रवार आफूहरुले जिल्ला प्रहरी कार्यालयबाट पाएको पत्रमा ‘के कसो भएको भएको हो ? छलफलका लागि आउनु’ भनी असभ्य भाषा शैलीको पत्रबाट आफूहरुलाई झन दुःखित तुल्याएको डा. यादवले बताइन् ।