• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशी सांसदहरु नै मधेश विरोधी भएः महतो

मधेशी सांसदहरु नै मधेश विरोधी भएः महतो

राजविराज, ११ मंसिर । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेशबाट प्रतिनिधित्व गरिरहका सांसदहरु नै मधेश विरोधी भएको बताएका छन् ।
विगत तीन दिनदेखि सप्तरीमा रहेका उनले शुक्रवार साँझ मलेठमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन् । मधेश आन्दोलनमा यूवा वर्गले खेलेको भुमिका सराहनीय रहेको भन्दै माग सम्बोधनमा ढिलाई हुनुमा मधेशी सांसदहरु नै जिम्मेवार रहेको उनले आरोप लगाए । ‘मधेशबाटै संविधान सभासम्म पुगेका सभासदहरु मधेश बिरोधी भए्, काँग्रेस, एमाले र एमाओवादीमा रहेका सभासद्हरुसमेत गरी २ सय जनाले हस्ताक्षर नगरेको भए यो संविधान जारी हुने थिएन ।’
जारी भएको मधेश विरोधी संविधानको बचाउ गर्न मधेशीहरु नै लागेको भन्दै मधेशी जनताको अधिकारको हत्या गर्नेहरुलाई मधेशी जनताले मुहतोड जवाफ दिनुपर्नेमा नेता महतोले जोड दिए । ‘मधेशको माग सम्बोधन नहुँदै हस्ताक्षर गर्न उनीहरुले हतारो भयो, अडानसम्म उनीहरुले लिन सकेन, कसैले सुशील कोइराला, त कसैले केपी शर्मा ओली त कसैले पुष्पकमल दाहालको आज्ञापालक भएर आत्मसमर्पण गरिदिए’ उनले थपे ‘त्यस्ता मधेश विरोधीहरुलाई समाजिक रुपमै बहिष्कार गर्नु जरुरी छ ।’ अबको आन्दोलनलाई थप सशक्त बनाउन बनाउन पहिला आफ्नै घरको धुलो सफा गरी यूवावर्ग अगाडि बढ्नुपर्नेमा नेता महतोले जोड दिए । मधेशमा नरसंहार भइरहँदा पनि मधेशी सांसदहरु मधेशभन्दा पनि पार्टीका नेताहरुप्रति बफादार भएको समेत उनले टिप्पणी गरे ।
नेता महतोले विगत तीन दिनदेखि सहीद परिवारका घरघर तथा गाउँगाउँमा पुगेर कार्यकर्ता भेंटघाटलाई तिब्रता दिएका छन् ।

maleth_Friday1