राजविराज, १० मंसिर । जारी मधेश आन्दोलनका क्रममा सप्तरीको भारदह, रुपनी र राजविराजमा प्रहरी आतंककारी शैलीमा गोली चलाएको भन्दै संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले कडा शब्दमा भत्र्सना गरेको छ ।
समितिका प्रवक्ता बलराम यादवले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी दमनको भत्र्सना गरेका हुन् । नेपाल प्रहरीले आतंककारी शैलीमा टाउको र छातीमा गोली हानी निकृष्ट एवम् घोर मानव अधिकार उल्लंन गरेको भन्दै उनले दोषी प्रहरी प्रशासनलाई कडा कार्वाही गर्न उनले जोडदार माग गरेका छन् ।
लोकतन्त्रको समान्य मूल्य र मान्यतालाई समेत विर्सेर तानाशाह तरिकाले सञ्चारकर्मी एवम् अस्पतालमा पसी स्वास्थ्यकर्मीहरुमाथि गरेको आक्रमण र स्थानीय जनताको घर–घरमा पसेर पिट्नु आतंकारी शैलीकै नमूना भएको प्रवक्ता यादवद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ । यस्तै सेनाले आतंककारी शैलीले एक अपाङ्गलाई कुटेर टाउको समेत फोड्ने कार्यबाट राज्यको चरित्र उदाङ्गो भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा आएका मधेशी जनतालाई मोदीको छोरा भनेर अपशब्द प्रयोग गर्ने एवम् गालीगलौज गर्ने एकल जातीय राज्यले गरेको व्यवहार सरह भएकोले यस्ता कार्य तत्काल नरोके देश गृहयुद्ध फँस्ने विज्ञप्तिमा जनाइएको छ ।