राजविराज, ९ मंसिर । मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट शनिवार र आइतवार सहादत प्राप्त गरेका सप्तरीका सहीद परिवारलाई सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले भेंट गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका महतोले राजविराज–१ निवासी ३८ वर्षिय सहीद दिलिप कुमार साहका परिवारजनसँग बुधवार साँझ भेंटघाट गरेका छन् । नेता महतोसहित पूर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादव, सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, केन्द्रीय सदस्यद्वय दिपेन्द्र प्रसाद चौधरी, दिनेशकुमार यादव, विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवसमेतको टोलीले भेंटेर सहानुभूती प्रकट गरेका छन् ।
उक्त टोलीले घटनाबारे स्थलगत जानकारी लिएका छन् । सहीद परिवारसँग भेंटघाटका क्रममा सहीद साहका परिवारमा रुवावासी चलेको थियो । सहीद दिलिपका छोरी मुस्कानलाई हातमा लागेको गोलीको छर्रा तथा उपचारको अवस्थाबारे जानकारी लिँदै नेता महतोले आफूहरुले जघन्य अपराधलाई गम्भीरतापूर्वक लिएको र सहीदहरुको बलिदानी खेर जान नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।
यसैगरी डाढा–७ का २२ वर्षीय विरेन्द्र राम, जमुनी मधेपुरा–९ छपकीका २७ वर्षिय नागेश्वर यादव र जमुनी मधेपुरा–३ पर्साहीका १८ वर्षीय सहीद शिवशंकर दासको घरै पुगेर परिवाजनसँग भेटेर सहानुभूति प्रकट गरेका छन् । नेता महतो बुधवार सप्तरीमै बस्ने तथा विहीबार पत्रकार सम्मेलन आयोजना गरिने कार्यक्रम रहेको मधेशी मोर्चा सप्तरीका सूचना तथा सञ्चार समितिका संयोजक अमरनाथ मण्डलले जानकारी दिए ।