राजविराज, ९ मंसिर । नव आगन्तुक सप्तरी प्रमुख जिल्ला नारायण भट्टले जिल्लाका बुद्धिजिवी, नागरिक समाज, पत्रकार, अधिकारकर्मी र कानूनव्यवसायीहरुसँग पछिल्लो घटनाक्रमबारे जानकारी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा बुधवार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जिल्लामा प्रहरी दमनले चरम सिमा नाघेको भन्दै यस्ता क्रियाकलाप अविलम्ब सुधार गर्न जोडदार माग गरेका छन् । आन्दोलनमा कुनै संलग्नता नरहेका सर्वसाधारण जनतामाथि प्रहरीले टाउको र छाती ताकेरै गोली चलाएको तथा घरघरमा पसेर निर्घात कुटपीट गरेको जानकारी गराउँदै घटनाका दोषीलाई कार्वाही गर्न समेत उनीहरुले माग गरेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन पानीको फोहोरा दिने लगायतका विकल्पहरु रहँदा पनि सो नगरी प्रहरी उत्तेजित भएर दमनमा उत्रेका कारण ठूलो मानवीय क्षति भएको कार्यक्रमका सहभागीहरुले प्रमुख जिल्ला अधिकारी भट्टलाई अवगत गराए । प्रहरीको गोलीबाट मारिएकाहरुलाई सहीद घोषणा, दोषी प्रहरीलाई कडा कार्वाही, घाइतेहरुको निःशुल्क उपचार, पीडित परिवारको भरणपोषणको सुनिश्चितता लगायतका सुझावहरु दिईएको छ ।
आन्दोलनकारीहरुको राजनीतिक माग भएकोले केन्द्रबाटै समाधान हुने भएकोले स्थानीयस्तरमा जारी शान्तिपूर्ण आन्दोलनमा दमन नगर्न तथा सुरक्षाकर्मीहरुलाई संयमित बनाउन प्रमुख जिल्ला अधिकारी भट्टको ध्यानाकर्षण गराइएको छ । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले गरेको कुटपीट एवम् दुव्र्यवहारको विषयमा सहभागीहरुले जानकारी गराउँदै विगत तीन दिनदेखि अस्पताल तथा स्वास्थ्य संस्थाहरु ठप्प रहेकोले तत्काल वार्ता तथा सम्वाद गरी सेवा सुचारु गराउन सहभागीहरुले माग गरे । समाचार संकलनका क्रममा सञ्चारकर्मी उपर भएको दुव्र्यवहार, भौतिक साधनमा क्षति, अफसेट प्रेसमा तोडफोड लगायतका विषयहरुबारे समेत वक्ताहरुले कुरा उठाएका छन् ।
कार्यक्रममा प्राप्त सुझावहरुलाई आफूले गम्भीरतापूर्वक लिएको भन्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्नुका आम नागरिकसँगको सम्बन्ध विस्तार गर्न तत्काल ठोस कदम चाल्ने प्रतिवद्धता प्रमुख जिल्ला अधिकारी भट्टले गरेका छन् । शवलाई सद्गति गर्नका लागि आवश्यक प्रक्रिया तत्काल बढाउनुकासाथै स्वास्थ्यकर्मीहरुको आन्दोलनको विषयलाई समेत आफूहरुले गम्भीरतापूर्वक लिएको बताए ।
कार्यक्रममा बौद्धिक समाज समाज सप्तरीका संयोजक प्रा. अमरकान्त झा, नागरिक समाज सप्तरीका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, नेपाल रेडक्रस सोसाइटी शाखाका सभापति जोगन्द्र भगत, अधिवक्ताद्वय हेमनारायण चौधरी, रामनारायण साह, सप्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकर दास, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खड्गा, उपाध्यक्ष श्रवण कुमार देव, मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादव, सचिव चन्दन कुमार यादव, ओबिसी महासंघका प्रवक्ता उपेन्द्र साहलगायतले घटनाबारे जानकारी गराउनुका साथै सुझाव दिएका छन् ।