मधेशी मोर्चाले आहवान गरेको आन्दोलनका क्रममा यसपटक सप्तरीमा ६ जनाले ज्यान गुमाएका छन् । प्रहरीले चलाएको गोलीले दर्जनौ व्यक्ति घाइते भएका छन् । आन्दोलनमा गोली चलाउनै पर्दा पनि त्यस अघिका विभिन्न चरण पार गरेर अन्तिम अवस्थामा घुँडामुनि गोली चलाउनु पर्ने मान्यता समेत पालना गरिएको छैन ।
घरमै बसिरहेका राजविराज–१ का युवा दिलिप साहलाई गोली लागेर मृत्यु हुनु, उनकी नाबालक छोरी समेतलाई गोली लाग्नुले चरम दमनको नमूना अउजागर हुन पुगको छ । त्यति मात्र होइन अस्पताल जस्तो सम्वेदनशिल क्षेत्रमा प्रवेश गरेर प्रहरीले त्यहाँ कार्यरत चिकित्सक, कर्मचारीदेखि औषधी पसले र सर्वसाधारण समेतलाई कुटपिट र अभद्र व्यवहार प्रदर्शन गरेको छ । पत्रकारमाथि समेत कुटपिट गरिनु, प्रेसमा गएर तोडफोड गर्नु लगायतका कारणले प्रहरीले संयमता गुमाएको आम जनसमूदायमा भान परेको छ ।
प्रहरीले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालका स्वास्थ्यकर्मीलाई गरेको कुटपिट र अभद्र व्यवहारले अहिले जिल्लाभरिका स्वास्थ्य संस्थाहरुले उपचार सेवा बन्द गरेका छन् । दोषिमाथि कारवाही र सुरक्षाको प्रत्याभूति माग्दै चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रदा जनताले स्वास्थ्य उपचार कसरी पाउने ? गम्भिर प्रश्न खडा भएको छ । एकातिर आन्दोलन चर्किनु र अर्कोतिर जिल्लाभरिका स्वास्थ्य संस्थामा काम बन्द हुनाले आन्दोलनका क्रममा घाइते भएकाहरुलाई समेत उपचार नपाउने अवस्था सिर्जित हुन पुगेको छ ।
सुरक्षामा खटिने प्रहरीले उग्रता भन्दा पनि संयम र धैर्यताका साथ काम गर्नु आवश्यक छ । जनताको सुरक्षामा खट्नेले उल्टै उग्रता र अभद्रता प्रदर्शन गर्न थाल्छ भने त्यसलाई शौभनिय कार्य भनेर कसैले पनि भन्दैन । समस्याको समाधानतिर लाग्नु पर्ने सम्वेदनशिल समयमा आफूले नै संयमता गुमाएर उल्टै समस्या खडा गरिन्छ भने त्यसको जवाफ पनि सम्बद्ध पक्षले नै दिनु पर्ने हुन्छ । त्यसैले अहिलेको जटिलता र सम्वेदनशिलतालाई मनन गरी प्रहरीलाई संयमताका साथ काम गराउन सुरक्षा निकायका प्रमुखले पनि ध्यान पु¥याउनु जरुरी छ । मानिसको ज्यानै जाने सम्मको कारवाही गरिनु हुन्न, बरु दोषिलाई पक्रेर कानूनी कारवाही तिर लाग्नु पर्दछ । अनावश्यक बल प्रयोगले समस्या समाधान होइन जनआक्रोश बढाएर अनपेक्षित घटना निम्त्याउन सक्छ भन्ने तर्फ पनि सोच पुग्नु जरुरी देखिन्छ ।