राजविराज, ३ मंसिर । संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष नवनित झाले मधेशी जनताको शालिनता एवम् भद्रतालाई शासकवर्गले बेवास्ता गरेको भन्दै प्रतिकारात्मक संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।
मधेशी मोर्चाद्वारा विहीवार राजविराज स्थित शहीद दशन चौकमा आयोजित सभामा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशी जनता आफ्ना हक अधिकारकालागि जारी आन्दोलनमा राज्यद्वारा क्रुर दमन भइरहेको चर्चा गर्दै उनले भने ‘शान्तिपूर्ण आन्दोलनको माग सम्बोधन गर्नुको साटो गोली वर्षाउने काम भइरहेको छ, हामी निहत्था मधेशी जनता कहिलेसम्म यसरी नै शहीद भइरहने हो अब हाम्रो पनि धैर्यताको बाँध फुट्दैछ, हामीमाथि भयो भने आत्मरक्षाकालागि प्रतिकार गर्नु जरुरी छ ।’
युवा नेता झाले मधेशी, थारुलगायतका समुदायको सहनशिलतालाई कमजोरी ठान्दै पछिल्लो समय शासक मनोवृतीका नेताहरुले सिमांकन परिवर्तन नहुने, सेना परिचालन गरेर आन्दोलनलाई सिध्याउने अभिव्यक्ति दिईरहेको उनले बताए ।
मधेशी मोर्चाका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा आयोजित विरोधसभामा राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिश कुमार सिंह, किसान मञ्चका केन्द्रीय महासचिव अमरकान्त झा, युवा विद्यार्थी मोर्चाका जिल्ला संयोजक शम्भु यादव, सह–संयोजक तारकेश्वर यादव, तुफान मधेशी, नारायण दास, रामचरित्र दास, सद्भावना पार्टीका रञ्जित कुमार यादव, राजेन्द्र प्रसाद साह, उदयनाथ मण्डल, रामकिसुन यादवलगायतले मन्तव्य व्यक्त गरे । सोही सभामा जनकलाकार बसिर अहमदले आन्दोलन सम्वन्धि क्रान्तिकारी गीत प्रस्तुत गरेका छन् ।