• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा ग्यासको चरम हाहाकार

राजविराज, २ मंसिर । विगत तीन महिनायता लामो बन्द हडतालका कारण सप्तरी जिल्लामा ग्याँसको हाहाकार भएको छ ।

एलपी ग्याँस आपूर्ती हुन नसक्दा जिल्लामा ग्याँसको हाहाकार भएको हो । प्रति महिना विभिन्न कम्पनीका करिब २५ हजार सिलिण्डर ग्यास खपत हुँदैआएकोमा माग अनुसारको ग्याँस लामो समयदेखि आपुर्ती हुन नसकेका कारण सर्वसाधारण जनतामा मारमा परेका छन् ।
ग्याँस सिलिण्डरहरुमा लाइनमा लगाएको महिनौं भइसक्दा पनि ग्याँस नपाएको उपभोक्ताहरुले गुनासो गरेका छन् । ग्याँस नपाउँदा खाना पकाउन समेत समस्या भएको राजविराज नगरपालिका–६ कि गृहिणी रामकुमारी यादवले दुःखेसो सुनाईन् । ‘ग्याँस नपाएर पन्ध्र दिनदेखि दाउरामा खाना पकाउन थालेको छु तर दाउराको मूल्य पनि आकासिएको छ’ उनले भनिन् ‘तीन दिन अघि कोशी ग्याँस आयो भनेर लिन गएकोमा दुई दिनसम्म कुर्दा पनि रित्तै फर्किनुप¥यो ।’DSC00467
यस्तै दुःखेसो सुनाउँछन् राजविराज–५ का हेमन्त पोखरेल । भान्छामा ग्याँस सकिएको दश दिन भइसकेकोले जेनतेन चुलोमै खाना पकाउनुपरेको उनले बताए । उनले भने ‘ग्याँसमा पनि कालाबजारी भइरहेको सुन्दैछु, पहुँच र पैरबीवालाहरुले पाउँछन् तर हामी जस्ता सर्वसाधारणले ग्यास पाउन सकेकोे छैन ।’ सप्तरी भएर अन्यत्र ग्याँस लग्नु तर सप्तरीवासीले नपाउनु दुर्भाग्यपूर्ण भएकोले गत–विगतकै जस्तो कोटा अनुसार सप्तरीवासीले पनि ग्याँस पाउनुपर्ने उपभोक्ता पोखरेलको भनाइ छ ।
जिल्लामा ११ ओटा ग्यास कम्पनीका २५ हजार ग्याँस सिलिण्डर खपत भइरहेकोमा कोशी ग्यासले मात्र कुल खपतको ६० प्रतिशतलाई सेवा पुर्याउँदैआएको छ । आयल निगमले सप्तरीलाई विभेद गरिरहेको भन्दै माग अनुसारको ग्यास नपठाएको विक्रेताहरुको भनाइ छ ।
प्रतिमहिना कोशी ग्यास ३ हजार पाँच सय, प्रीमा ३ हजार, मनोज २ हजार ५ सय, कामाख्या १ हजार ५ सय, सुपर १ हजार ५ सय, रिजालको ७ सय, नारायणी ६ सय, अमर ६ सय, लियोबारा ७ सय र नोभेल कम्पनीका करिब ३ सय ग्यास सिलिण्डर खपत हुँदैआएको ग्यास व्यवसायी सघका अध्यक्ष रामकृष्ण दासले बताए ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले जिल्लामा ग्यासको आपूर्ति सहज बनाउनकालागि आफू प्रयासरत रहेको जानकारी दिएका छन् ।