• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मधेशवादीहरुको एउटै मोर्चा बनाउन बौद्धिक समाजको सुझाव

मधेशवादीहरुको एउटै मोर्चा बनाउन बौद्धिक समाजको सुझाव

राजविराज, ३० कार्तिक । बौद्धिक समाज सप्तरीद्वारा सोमबार जेसिज भवन राजविराजमा आन्दोलनरत मधेशी मोर्चा सप्तरीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

आन्दोलनलाई थप उचाईमा पु¥याई निर्णायक बनाउन सम्पूर्ण मधेशवादी शक्तिको एउटै मोर्चा बन्नुपर्ने बौद्धिक समाजको सुझावलाई मोर्चाका सम्पूर्ण घटकले स्वीकार गरेका छन् । वर्तमान संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विस्तार गरी वृहत मोर्चा निर्माण गर्न छिट्टै आन्दोलनमा सहभागी सबै मधेसवादी दल तथा संगठनका केन्द्रिय अध्यक्षहरुलाई एउटै मञ्चमा ल्याई कार्यक्रम गर्ने सहमती भएको छ ।
कार्यक्रममा मोर्चा सम्बद्ध जिल्लाका नेताहरुले आ–आफ्ना पार्टीका केन्द्रीय अध्यक्षलाई एउटै मञ्चमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । जारी मधेस आन्दोलनमा थप जनसहभागिता जुटाउन बौद्धिक समाजले गाउँ–गाउँमा प्रतिनिधि पठाउने मोर्चाको सभा कार्यक्रममा वौद्धिक समाज सहभागी हुने समेत सहमति भएको छ ।
आन्दोलनको क्रममा मित्र र शत्रुको पहिचान आवश्यक रहेकोमा वक्ताहरुले जोड दिएका छन् । जारी मधेस आन्दोलनलाई बल पु¥याउन भएको नाकाबन्दी कार्यक्रमलाई निष्तेज बनाउन चीन सरकारले आपूर्ति बढाएकोमा वक्ताहरुले आक्रोस व्यक्त गरेका छन् । चीन सरकार मधेस आन्दोलनको विरोधमा उभिएको जस्तो व्यवहार देखाएको भन्दै चीन सरकार विरुद्ध मधेसमा निरन्तर अभियान चलाउनु पर्नेमा अधिकांस वक्ताले जोड दिएका छन् ।
कार्यक्रममा बौद्धिक समाजका तर्फबाट समाजका सल्लाहकार खुशीलाल मण्डल, संयोजक अमरकान्त झा, सचिव अनिल कुमार अनल, सदस्यहरु मिना ठाकुर, जितेन्द्र खड्गा, सुगम्बर यादव, हेम कुमार मिश्र र श्याम नारायण साहले मन्तव्य व्यक्त गरेका छन् । मधेशी मोर्चाका तर्फबाट फोरम नेपालका केन्द्रीय सदस्यद्वय शैलेन्द्र प्रसाद साह, अशोक यादव, तमलोपाका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर, सद्भावनाका जिल्ला अध्यक्ष सुनिल कुमार झा, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल, नेकपा माओवादी (वैद्य)का रामगमन साह, लगायतका नेताहरुले विचार व्यक्त गरेको समाजका सचिव अनिलकुमार अनलद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।