• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
डा. सीके राउत नजरबन्दबाट बाहिरिँदै

मधेश प्रिमियर लिगको प्रमुख अतिथि बन्ने

राजविराज, २८ कार्तिक । विगत ६ महिनादेखि राजविराजस्थित आफ्नै घरमा नजरबन्दमा रहेका वैज्ञानिक डा. सीके राउत आइतवार एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन लागेका छन् ।
नेपाल सरकारको अघोषित नजरबन्दमा रहेका उनी राजविराजस्थित पब्लिक बिन्देश्वरी उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित मधेश प्रिमियर लिग क्रिकेट टुर्नामेन्टको समापन समारोहमा सहभागी हुनका लागि जाने निश्चित भएको हो । मधेशी इञ्जिनियरिङ्ग स्टुडेन्ट युनियन सप्तरीद्वारा आयोजित प्रतियोगिताको समापन समारोहमा खेलाडीहरुको मनोबल बढाउनका लागि उनी सहभागी हुन लागेको जनाइएको छ ।
स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा. राउतलाई नेपाल सरकारले संविधान जारी नभएसम्मका लागि विशेष निगरानीमा राखेको थियो । गत जेठ १२ गते सुनसरीको ईटहरी स्थित एरिना टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा प्रहरीले पक्राउ गरेका थिए । प्रहरीले उनलाई अर्को दिन राजविराजस्थितकै घरमा लगेर छाडेका थिए । तत्पश्चात उनलाई बाहिर आवत–जावत गर्न नदिईरहेका थिएन । कतै बाहिर जान लाग्दा प्रहरीले उनलाई पुनः नियन्त्रण घरमा लगेर छाड्दैआएका थिए ।
एक वर्ष अघि डा. राउतले मधेशमा मधेश प्रिमियर लिग टुर्नामेन्ट आयोजना हुनुपर्ने तथा मधेशमा मधेशी खेलाडीहरुकै सहभागितामा समेत छुट्टै राष्ट्रिय टिम हुनुपर्ने बिचार अघि सारेका थिए । युके अन्तर्गत स्कटल्याण्ड, इंग्ल्याण्डले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने अवसर पाए जस्तै मधेशका खेलाडीहरुको सहभागितामा पनि मधेशी खेलाडीहरुको बलियो टिम बनाएर मधेशका लागि खेल्नुपर्ने तर्क डा. राउतले राख्दैआएका थिए । डा. राउतकै बिचारबाट प्रेरित भएर मधेशी इञ्जिनियर्स स्टुडेन्ट युनियनले मधेशमै पहिलो पटक मधेश प्रिमियर लिग टुर्नामेन्टको आयोजना गरेको हो ।dr-ck-raut-pr
यस विषयमा डा. राउतले आफ्नो फेसबुक पेजमा समेत आफू खेलमा सहभागी हुन लागेको कुरा सार्वजनिक गरेका छन् ।

कार्तिक १४ गतेदेखि सञ्चालित खेलमा भारत, मधेशसहित नेपालका २० ओटा टिमको सहभागिता रहेको थियो । फाइनल खेल रञ्जितपुर राइडर्स र गणपति टिम रुपनी टिम बीच हुने आयोजक समितिका अध्यक्ष संजिव नारायण यादवले जानकारी दिए । उनका अनुसार विजेता टिम कप र २१ हजार नगद पुरस्कार रहेको छ भने उप–बिजेता टिमलाई कपसहित नगद ११ हजार र म्यान अफ द सिरिजका लागि साइकल तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानलाई विशेष पुरस्कार दिईनेछ ।