Top_Header_Right_Add

यत्रतत्र सर्वत्र मधेश आन्दोलनको लहरः मूर्तीकारको मूर्तीकलामा पनि राज्यप्रतिको आक्रोश

यत्रतत्र सर्वत्र मधेश आन्दोलनको लहरः मूर्तीकारको मूर्तीकलामा पनि राज्यप्रतिको आक्रोश

श्यामसुन्दर यादव, राजविराज, २७ कार्तिक । मधेश आन्दोलनले तीन महिना पुरा गरिसक्दा पनि सरकार गम्भीर नभएपछिको आक्रोश मधेशमा यत्रतत्र सर्वत्र देखिन थालेको छ ।
राज्यले मधेशी जनताको आवाजलाई सम्बोधन गर्नुको साटो क्रुर दमनात्मक निती अपनाउँदै आएकोले यस्तो आक्रोश यतिबेला प्रस्फुटित हुन थालेको हो । राज्यप्रतिको आक्रोश मधेशका बालकदेखि बृद्धसम्ममा देखिन थालेको छ । सिङ्गो मधेश आन्दोलित रहँदा पनि राज्यपक्ष त्यसलाई सानो अथवा मुट्ठीभर भनेर आँकलन गरिनु र त्यस्तै खालका नेताहरुको अभिव्यक्तिहरुले गर्दा भित्री मनदेखि आन्दोलनमा आमजनसमुदायको भावना जोडिन थालेको छ । 2
पछिल्लो पटक राज्यप्रतिको आक्रोश मधेशको मूर्तीकलामा समेत प्रस्फुटित भएको छ । राजविराज वडा नम्वर–४ स्थित वैष्णवी काली मन्दिरमा सार्वजनिक रुपमा बनाईएको मूर्तीमा राज्यले मधेशी जनतामाथि गर्दैआएको व्यवहारको नमूना प्रस्तुत गरिएको छ ।4
प्रत्येक वर्ष लक्ष्मीपूजाका अवसरमा लक्ष्मी, गणेश, सरस्वती, हनुमान, विष्णु, आदिका भव्य मूर्तीहरु बनाएर त्यहाँ पूजा–आजा गरिन्छ । यसवर्ष राजविराजका बुद्धिजिवी, व्यवसायी, युवा, विद्यार्थी समेतको आग्रहमा मधेश आन्दोलन र राज्यको शैली झल्किने मूर्तीहरुसमेत निर्माण गरिएको सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मनोजकुमार मुन्धडाले बताए । सामूहिक रुपमा निर्माण गरिएको उक्त मूर्ती हेर्न तथा फोटो खिँचाउन दर्शनार्थीहरुको भीँड लाग्ने गरेको उनले बताए ।
सप्तरीको बोरिया गाविस वडा नम्वर–९ निवासी छोटेलाल मण्डलले बनाएको उक्त मूर्तीको यतिबेला सर्वत्र चर्चा नै चलेको छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिमासँगै एक सैनिकको समेत मूर्ती बनाएका छन् । अर्कोतर्फ मधेशी जनताको प्रतिनिधीको रुपमा दुईओटा मूर्ती बनाइएको छ । आन्दोलनकारीको उक्त मूर्तीमा एक आन्दोलनकारीलाई सेनाले चलाएको गोली लागेर भुइँमा पछारिएको भने अर्का आन्दोलनकारी अधिकार माग्दै नाराबाजी गरिरहेका छन् । उता प्रधानमन्त्री ओलीले सेनालाई गोली हान्न आदेश दिईरहेको सन्देश मूर्तीकलाको माध्यमले देखाउन खोजिएको छ ।1
लक्ष्मीपूजाका दिनदेखि तीनदिनसम्म रहने वैष्णवी काली मन्दिरमा निर्माण गरिएको मूर्ती हेर्न गाउँगाउँबाट मान्छेहरु आउने गरेको फोटो पत्रकार समेत रहेका वैष्णवी काली मन्दिर समितिका संस्थापक महासचिव राधेश्याम रमणले बताए । तीन महिनादेखिको मधेश आन्दोलनका क्रममा करिब चार दर्जन मधेशी सपूतहरु गुमाउनु परेको तथा करिब दुई हजार व्यक्ति घाइते रहेको अवस्था यसवर्ष मूर्ती नबनाउने सोचमा रहेपनि युवाहरुको विशेष आग्रहमा परम्परालाई कायम राख्न मूर्ती बनाएको उनले जानकारी दिए । आन्दोलनरत अवस्थामै रहेर पनि चाडपर्व मनाउने तथा आन्दोलनकै शैलीमा मनाउने निर्णय अनुसार राज्यपक्षको शैली र मधेशी जनताको वास्तविक अवस्था झल्किने मूर्ती निर्माण गरी पूजाआजा भइरहेको मन्दिर समितिका महासचिव रमणले बताए ।
मूर्तीकलामा मात्र होइनन् आमजनताका आक्रोशहरु विभिन्न फरक शैलीबाट प्रस्फुटित भइरहेका छन् । लक्ष्मीपूजा, गोवद्र्धन पूजा, भाइटिका र छठ पर्वका अवसरमा मधेशका गाउँगाउँमा खेलिने नाटकहरुमा समेत राज्यको दमनात्मक निती र मधेशको पीडा समावेश गरेर नाटकहरु आयोजन भइरहेका छन् । मञ्चन भइरहेका अधिकांश नाटकहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, डा. सीके राउत, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, मातृका प्रसाद यादवलगायतका नेता पात्रहरुको अनिवार्यता देखिएको छ । उक्त नाटकहरुले समेत आन्दोलनमा जनजागरण ल्याउने काम गरिरहेको मैथिल महासंघ नेपालका अध्यक्ष विष्णुकुमार मण्डलले बताए ।
राज्यपक्षले मधेश आन्दोलनलाई बेवास्ता गरिरहेका कारण यस्ता जनजागरणले काठमाण्डौ र मधेशको वास्तविक यथार्थको भण्डाफोर गरिरहेको बौद्धिक समाज सप्तरीका संयोजक समेत रहेका मधेशका राजनीतिक विष्लेशक प्राध्यापक अमरकान्त झाले बताए । राज्यपक्षको शैली र व्यवहारले गर्दा मधेश जनतामा थप आक्रोश बढीरहेको भन्दै मागलाई सम्बोधन गरी यथाशक्य निकास नदिए जनजनको भित्री हृदयबाट उठेको लहरलाई कुनै पनि शक्तिले चाहेर पनि रोक्न नसक्ने अवस्था सिर्जना हुनसक्ने उनको टिप्पणी छ ।
यस अघि आन्दोलनलाई उर्जा प्रदान गर्ने खालका दर्जनौ गीतहरु समेत सार्वजनिक भएका छन् । मधेशमा मनाईने प्रायः हरेक चाडपर्वका अवसरमा माटाको कलात्मक मूर्ती बनाएर पूजा–आजा गर्ने परम्परा रहँदैआएको छ । यस किसिमका विशेष आकर्षण अन्य स्थानहरुमा निर्माण गरिएका मूर्तीहरुमा समेत देखिएको छ ।
आवरण तस्विरः राजविराज नगरपालिका वडा नम्वर–४ स्थित वैष्णवी काली मन्दिर परिसरमा निर्माण गरिएको राज्य र मधेश आन्दोलन झल्काउने माटाको कलात्मक मूर्ती ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer