आन्दोलनले गर्दा पर्व प्रभावित, रौनकतामा कमी
राजविराज । कृष्ण औँसीका दिन बुधवार धनधान्यकी देवी लक्ष्मीको पूजा–आजा गरेर दिपावली पर्व मनाइँदैछ ।
आ–आफ्ना घर वरिपरि सरसफाइ गरी बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा घरमा धन्यधान्यको प्राप्ति हुने जनविश्वास रहेको छ । घरघरमा दीयो बाल्नुका साथै मधेशमा हुक्कापाती खेल्ने गरिन्छ । घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटी तथा पूजास्थलसम्म लक्ष्मीको पाइला अङ्कित समेत गरिन्छ ।
लक्ष्मीपूजाका दिन हिन्दुधर्मावलम्बीहरुले लक्ष्मीको तस्विर तथा माटाको मूर्ती बनाएर पूजाआजा गरिन्छ । दिपावलीकै अवसरमा विभिन्न स्थानहरुमा भव्य सजावटका साथ मूर्ती बनाउनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिन्छ । मधेशमा लक्ष्मीको पूजाआजा तथा दीपावली गरेपछि हुक्कापाती समेत खेल्ने परम्परा रहेको छ ।
निरन्तरको तीन महिना लामो बन्दका कारण यसवर्ष भने दिपावली पर्वमा खासै रौनकता देखिएको छैन । मधेशमा जारी आन्दोलनलाई राज्यपक्षले सम्बोधन नगरेका कारण लम्बिएको आन्दोलनले गर्दा पर्वको खासै रौनकता भने देखिएको छैन ।
बजारहरुमा मालसामानको अभाव हुनुका साथै सर्वसाधारण जनतामा आर्थिक तङ्गीले गर्दा किनमेल पनि गतविगतको जस्तो हुन नसकेको राजविराजका युवा व्यवसायी राधेश्याम यादवले बताए । लामो बन्दपछि केही दिनयता केही खुकुलो भए पनि बजारमा मालसामानको अभाव रहेका कारण महँगी समेत बढेको उनको भनाई छ ।
सर्वसाधारण जनताको आग्रह तथा चाडपर्वलाई मध्यनजर गर्दै मधेशी मोर्चा सप्तरीले मङ्गलवार र बुधवार दुई बैंकहरुलाई कारोबार गर्न छुट दिएका थिए । यद्यपी बैंकहरुमा उपभोक्ताहरुको अत्यधिक चापका कारण दुई दिनसम्म लामो लाइन बस्दा पनि रकम झिक्न नपाएको आमउपभोक्ताहरुको भनाई छ ।
लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति आओस् भन्ने कामनाका साथ नाङ्लो ठटाउँदै प्रवेश गर्ने गरिन्छ । दिपावलीको रातीलाई सुखरात्रि पनि भन्ने गरिन्छ । मधेशमा यस विषयमा ‘खाय पिबएल’ सुकराती, डङ्गबैल’ खढसुप’ भन्ने भनाइ(कहवी) लोकप्रिय छ ।
लक्ष्मी पूजा गरिसकेपछि पहाडी जिल्लाहरुमा दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन गाईको समेत पूजा गर्ने परम्परा रहेको छ । मधेशमा भने लक्ष्मीपूजाका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजन गरेर रातभरी जाग्राम बस्ने गरिन्छ ।
प्रत्येक वर्ष मनाइदै आएको दिपावली पर्व आममधेशी जनताले सामान्य ढङ्गबाट मनाइरहेको मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल कुमार झाले बताए । आन्दोलनका क्रममा करिब चार दर्जन मधेशी जनताले सहादत दिईसक्दा पनि माग सम्बोधन हुन नसकेको तथा आन्दोलन समेत जारी रहेकोले बढी तडक–भडकका साथ दिपावली मनाउनुको औचित्य नरहेको बताउँदै उनले भने ‘हामी भन्दा बढी मधेशको चिन्ता जनतालाई छ, उनीहरुको आफ्नै मनले मानेको छैन । मधेशको माग पुरा भएपछि मात्र मधेशी जनताले जीतको खुशीयालीमा भव्य दिपावली मनाउने उनले बताए ।
बिहीवार गोवद्र्धन पूजा तथा शुक्रवार भाइटिका ‘भरदुतिया पर्व मनाईदैछ ।