राजविराज, २१ कार्तिक । मधेश आन्दोलनलाई सशक्त बनाउन राजमार्ग केन्द्रित आन्दोलनको पूर्व सन्ध्यामा सप्तरीको रुपनीमा विशाल मशाल जुलुस प्रदर्शन गरिएको छ ।
शनिवार प्रदर्शन गरिएको मशाल जुलुस रुपनी बजारको विभिन्न भाग परिक्रमा गरी राजमार्गमै विरोधसभामा परिणत भएको थियो । विरोधसभामा सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादवले आन्दोलनलाई थप सशक्त एवम् निर्णायक बनाउन लागिएकोले घर–घरबाट सहभागी हुन आह्वान गरे ।
सभामा राष्ट्रिय मधेश युवा लिगका केन्द्रीय उपाध्यक्ष मुकेश कर्ण, नेपाल सद्भावना पार्टीका हरेराम यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका सह–सचिव उपेन्द्र चौधरी, ने्कपा माओवादी (मातृका) भागवत यादवलगायतका वक्ताले मन्तव्य व्यक्त गरे ।