बीरगञ्ज, २० कार्तिक ।

पर्सा जिल्लाको गाविस बगही वडा नम्वर– ३ मा अज्ञात व्यक्तिहरुले माछा पोखरीमा विषादी हालेका कारण लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।
बगही निवासी गेनालाल पटेलले नेपाल बैंक लिमिटेडबाट दस लाख रुपैयाँ ऋण लिएर चार महिना अघि आफ्नै जग्गामा माछा पालन व्यवसाय सञ्चालन गरेका थिए । डेढ विगहा जग्गामा शुरु गरिएको माछा पालन गरिएको पोखरीमा १९ गते राति अज्ञात समुहले विषादी औषदी छरेका थिए । पोखरीमा विषादी हालेका कारण करिब साढे पाँच लाख माछा मरेको छ ।
करिब पचास हजार सानो माछा ४ र ५ इन्च साइजका माछाहरु मरेको पिडित पटेलले बताए । पटेलका अनुसार केही व्यक्तिहरुमाथि शंका रहेको तर पूर्ण यकिन नभएकोले सम्बन्धित निकायलाई निष्पक्ष जाँच गरि दोषी पत्ता लगाई कारवाही गर्न अनुरोध समेत गरेका छन् ।
मध्य तराईमा माछा पालन व्यवसाय फस्ट्याउँदै गएकोले आफू उक्त व्यवसायमा लागेको उनले बताए । पाँच लाख पचास हजार पीस माछाको मुल्य करिब. १५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।