राजविराज, १८ कार्तिक । मधेशी मोर्चा सप्तरीले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै राजविराजमा विहीवार पनि विरोधसभालाई निरन्तरता दिएको छ ।
स्थानीय सहीद दशन चौकमा आयोजित सभालाई सम्बोधन गर्दै मधेशी जन अधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले राज्यपक्ष मधेशको माग सम्बोधन गर्न गम्भीर नभएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए । मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच पटक–पटक वार्ता भए पनि निष्कर्ष विहिन बन्ने गरेको भन्दै आन्दोलनलाई थप सशक्त बनाउनुपर्नेमा उनले जोड दिए ।
मधेशी मोर्चाका नगर संयोजक उमेश प्रसाद साह ‘कमाण्डौ’, अध्यक्षतामा आयोजित विरोधसभामा किसान मञ्चका महासचिव अमरकान्त झा, युवा विद्यार्थी मोर्चाका संयोजक शम्भु यादव, सह–संयोजक तारकेश्वर यादव, रामकिसुन यादव, भोगेन्द्र मण्डल, नारायण यादव, जमाहर यादव, सन्तोष यादव, मनोज राउत मेहतरलगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका छन् ।