राजविराज, १७ कार्तिक । सप्तरीको ३ नम्वर क्षेत्रीय आन्दोलन परिचालन समितिले राजमार्ग केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
राजविराजमा मङ्गलवार क्षेत्रीय संयोजक लक्ष्मण यादवको अध्यक्षतामा बसेको बैठकमा केन्द्रदेखि बुथ कमिटिका पदाधिकारीहरु, सदस्यको सहभागिता रहेको थियो । बैठकले कार्तिक १६ गते वीरगञ्जमा शान्तिपूर्ण धर्नामाथि प्रहरीले गरेको दमनको घोर निन्दा एवम् भत्र्सना गर्दै मृतकप्र्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले दोषी प्रहरी र गृहमन्त्री शक्ति बस्नेतको राजिनामाको माग गरेको छ । आन्दोलनलाई सशक्त बनाउन राजमार्ग केन्द्रित आन्दोलनका लागि गाउँ–गाउँबाट भेला गराई सहभागिता बढाउने र राजमार्गमा प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य प्रसाद साह, सद्भावना पार्टीका केन्द्रीय सदस्य दिपेन्द्र कुमार चौधरी, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य हेमशंकर सिंह, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुबी यादव, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो ।