• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वीरगञ्ज घटनाको विरोधमा प्रदर्शन र पुतला दहन

राजविराज, १६ कार्तिक । मधेशी मोर्चा सप्तरीले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिँदै राजविराजमा सोमवार समेत विरोधसभाको आयोजना गरेको छ ।

स्थानीय सहीद दशन चौकमा आयोजित सभालाई सम्बोधन गर्दै वक्ताहरुले राज्यपक्ष मधेशको माग सम्बोधन गर्न गम्भीर हुनुको साटो चरम दमन गर्ने निती अख्तियार गरेको बताए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोली बीच पटक–पटक वार्ता भए पनि निष्कर्ष विहिन हुने गरेकोभन्दै अब नौटंकीपूर्ण वार्ताको औचित्य नरहेको भन्दै वक्ताहरुले आक्रोश व्यक्त गरे ।
विरोधसभामा बोल्दै नेपाल सद्भावना पार्टीका केन्द्रिय सदस्य हेमशंकर सिंहले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकार बीच वार्ता चलिरहेको अवस्थामा राज्यपक्षबाट दमन गरिनु घोर निन्दनीय भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलनमा बीरगञ्जमा प्रहरीले गर्दा एक जना आन्दोलनकारीले ज्यान गुमाएको तथा दर्जनौं घाइते भएको भन्दै आन्दोलनलाई थप सशक्त पार्न उनले आह्वान गरे ।
मधेशी मोर्चा सप्तरीका संयोजक रामप्रित यादवको अध्यक्षतामा आयोजित विरोधसभामा सद्भावना पार्टीका केन्द्रिय सदस्य विशेश्वर रजक, फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य भागवत मण्डल, युवा विद्यार्थी मोर्चाका सह–संयोजक तारकेश्वर यादव, किसान मञ्चका महासचिव अमरकान्त झा, फोरम गणतान्त्रिकका जिल्ला अध्यक्ष नरेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष सतिस कुमार सिंह, फोरम नेपालका जिल्ला सदस्य केदार यादव, विद्यार्थी फोरमका जिल्ला अध्यक्ष विशाल यादव, सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष लक्ष्मण यादव, नेकपा–माओवादीका विष्णुकान्त यादव, राजनीतिकर्मी उमेश कुमार साह ‘कमाण्डो’ रामकिसुन यादवलगायतका वक्ताहरुले सम्बोधन गरेका छन् ।
सोही सभामा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री शक्ति बस्नेतको पुतला दहन गरिएको छ ।