• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
स–साना बालबालिकालाई विद्यालयमा झुलाएर खेलाउन, साउँ अक्षर चिनाउँदै अन्य आवश्यक कुराहरु सिकाउन बालविकासका शिक्षिकहरुको काँचमा गहन जिम्मेवारी रहेको हुन्छ ।
सप्तरीका विद्यालयहरुमा पनि यस्तो व्यवस्था त गरिएको छ । तर अधिकांशमा समस्यै समस्याले गाँजेका कारणले सहज तवरले कक्षा सञ्चालनमा निकै चुनौतीको सामना गर्नुपर्ने अवस्था विद्यमान छ । कतै एक शिक्षकका भरमा ५० भन्दा बढी बालबालिका रहेको कक्षा सञ्चालन गर्नु परिरहेको छ भने कुनै कुनै विद्यालयमा विद्यार्थी संख्या अति न्यून रहँदा पनि शिक्षकहरु बढी संख्यामा कार्यरत छन् । तिलाठी कोईलाडी–७ मन्सापुरस्थित राष्ट्रिय आधारभूत विद्यालयको बालकक्षामा ६६ जना बालबालिका भर्ना भएका छन् । तर ती सबैलाई एउटै कोठामा कोचेर पढाउने, सिकाउने र खेलाउने जिम्मा बालशिक्षक रेणु देवी मण्डलको एकल काँधमा छ । मन्सापुरको यो विद्यालयको अवस्थालाई त एउटा मात्र उदाहरणका रुपमा लिन सकिएला । जिल्लाका अन्य अधिकांश आधारभूत विद्यालयको अवस्था पनि सन्तोषजनक रहेको छैन । विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था मिलाउने तर्फ चासो नलिईएका कारणले नै यस्तो अवस्था आएको हो । शिक्षकको अभावसँगै कति विद्यालयमा कक्षाकोठाको अभाव छ भने कतै शिक्षण सामग्रीको । कक्षाकोठामा नियमित सरसफाई, स्वच्छ, वातावरणको पनि उत्तिकै आवश्यकता रहन्छ । यसका अतिरिक्त खाजा, स्वच्छ पिउने पानी जस्ता कुरामा समेत ध्यान पु¥याउनु पर्ने हुन्छ । बालबालिकालाई विद्यालयमा बस्न मन लागिरहोस भन्नका लागि आवश्यक सबै कुराको व्यवस्था मिलाउनेतर्फ स्थानीय पालिकाहरुले चासो लिनुपर्ने हो ।
तर त्यसमा कमी रहेको भन्ने जनगुनासो अहिले पनि सुन्न पाईन्छ । उग्र गर्मी हुँदा समेत धेरै विद्यालयमा अहिले पनि पंखाको अभाव कायमै छ । यस्ता कुराप्रति चासो नलिने अनि विद्यालयमा विद्यार्थी संख्या घटेको भन्दै पिरोलिनु मात्रको कुनै तुक रहन्न ।