• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आन्दोलनकारीहरुद्वारा पेट्रोल नष्ट

भारदह, ८ कार्तिक । भारतीय बजारहरुबाट मोटरसाइकलमा ल्याएर चर्को मूल्यमा बिक्री गर्ने गरेको भन्दै आइतवार भारदहमा करिब ५० लिटर पेट्रोल आन्दोलनकारीहरुले नष्ट गरेका छन् ।
मोटरसाइकलमा ल्याएर महँगोमा बिक्री गर्नुका साथै राजधानी काठमाण्डौ पठाइने गरिएको पाइएकोले भारतीय बजारबाट ल्याईने पेट्रोलन नष्ट गर्ने कार्यलाई तिब्रता दिइएको हो । चाडपर्वलाई मध्यनजर गर्दै सप्तरी जिल्लामा केही दिनयता मधेशी मोर्चा सप्तरीले आन्दोलनलाई खुकुलो पारेपछि पेट्रोल तस्करी व्यापक रुपमा हुँदैआएको थियो ।
बिरामी बोक्ने एम्बुलेन्समा लुकाएर राखेको अवस्थामा पेट्रोलियम पदार्थको ढुवानी भइरहेको फेला परेको संयुक्त मधेशी मोर्चा भारदहका संयोजक वीरेन्द्र माझीले सञ्चारकर्मीहरुलाई जानकारी दिएका छन् । मोटरसाइकलको ट्यांकीमा पेट्रोल भरेर भारतीय बजारबाट ल्याउने र यता आएर ग्यालेनमा खन्याउने कार्यलाई तिब्रता दिएको भनी व्यापक जनगुनासो आएपछि मधेशी मोर्चाले निगरानी बढाएको छ ।
यसैगरी भारदहमा आइतवारै साँझ विरोध जुलुस तथा सभाको आयोजना गरियो । संयुक्त मधेशी मोर्चाका अध्यक्ष वीरेन्द्र माझीको अध्यक्षतामा आयोजित सभामा सद्भावना पार्टीका राष्ट्रिय उपाध्यक्ष नवलकिशोर साह, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य जगदेव यादव, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी)का जिल्ला अध्यक्ष दानी मण्डल, संजीवकुमार मण्डललगायतले माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।