राजविराज, ६ कार्तिक । घरमा कोही नभएको मौका छोपी राजविराज नगरपालिका वडा नम्वर–५ मदननगर स्थित एक घरमा विहीवार राती चोरी भएको छ ।
तारकेश्वर यादवको घरमा मध्यरातमा चोरी भएको हो । घरहरुको ढोकामा लगाएको ताल्चा फुटाएर जोहो गरेर राखिएको भारती रुपैयाँ ९० हजार, सुन तीन तौला, चाँदी ४५ तौला, लत्ताकपडा समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको सरसामान चोरी भएको घरधनी यादवले जानकारी दिए ।
मलेकपुर–६ खुरहरिया स्थितको घरमा विजया दशमीको मूर्ती बनाएकोले उनीसहित सम्पूर्ण परिवार गाउँमा रहेको मौका छोपी चोरी भएको हो । आफ्नो घरमा चोरी भएको कुरा विहान मात्र थाहा पाएको पीडित यादवले बताए ।
चोरी भएको स्थानबाट गाँजाको पुरिया समेत बरामद भएकोले उक्त चोरीमा गँजेडीहरुको संलग्नता भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । चोरीको विषयमा प्रहरीको टोलीले स्थलगत जानकारी लिएका छन् ।
यसैगरी एक दिन अघिमात्र राजविराज नगरपालिका वडा नम्वर–५ पोखरेल टोलमा समेत एक घरमा चोरी भएको थियो । चोरहरुले उक्त टोलबाट समेत लाखौं रुपैयाँ बराबरको धनमाल चोरेर लगेका छन् ।