राजविराज, २ कार्तिक । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख भीम प्रसाद ढकालले चाड पर्वलाई मध्यनजर गर्दै सप्तरीमा विशेष सुरक्षा योजना लागु गरिएको बताएका छन् ।
प्रहरी कार्यालयमा सोमवार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । मन्दिर, सार्वजनिक स्थल लगायतका ठाउँहरुमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको उनले बताए । जिल्लाको मन्दिर क्षेत्र तथा आसपासमा परिचालित रहने प्रहरीले पार्किङ्ग व्यवस्थापन, चोरी, लुटपाट, अनावश्यक हो–हल्ला हुन नदिन चनाखो रहने पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक ढकालले बताए ।
सशस्त्र प्रहरी समेतको समन्वयमा मोबाइल गाडी, क्युआरटी मोटरसाइकल, पिकेट, सादा पोशाकका प्रहरी २४औं घण्टा परिचालित रहने जानकारी दिँदै उनले भने ‘जिल्लामा शान्ति सुरक्षाको व्यवस्था मिलाउन हामी प्रतिवद्ध छौं, २४ औं हाम्रा सुरक्षा टोलीहरु परिचालित छ । जिल्लाको भारदह गाविस स्थित कंकालिनी भगवति मन्दिरमा पूजाआजा गर्न आउने श्रद्धालुभक्तजनहरुको सुरक्षा दिन सुरक्षा निकाय परिचालित रहेको प्रहरी प्रमुख ढकालले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरियाले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरुले समेत शुभकामना आदान–प्रदान गरेका थिए ।