राजविराज, २१ असोज । मधेशी मोर्चा सप्तरीले राजविराज स्थित सहीद दशन चौकमा विहीवार विरोधसभाको आयोजना गरेका छन् ।
सभालाई सम्वोधन गर्दै सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादवले मधेशमा जारी आन्दोलनलाई तीन दलले बेवास्ता गरेको भन्दै थप सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको निवास तथा सम्पर्क कार्यालयमा भएको हमलाको घोर भत्र्सना गर्दै यस्ता निन्दनीय घटना नरोके त्यसको प्रतिकार गर्न आफूहरु तयार रहेको उनले बताए । वर्तमान सरकार शासकीय मनोबृतिबाट ग्रसित रहेको भन्दै उक्त घटनाका दोषीहरुलाई कडा कार्वाही गर्न सद्भावना पार्टीका केन्द्रिय सदस्य यादवले माग गरे ।
राजनीतिकर्मी सूर्यनारायण मण्डल ‘कुरुड’ले सामान्य आन्दोलनबाट नहुने भन्दै शासकवर्गलाई परास्त गर्नका लागि सशक्त आन्दोलनको आवश्यकता औंल्याए । विभिन्न ठाउँमा आन्दोलन गर्नुभन्दा संगठित भएर राजमार्ग केन्द्रित गर्नुपर्नेमा जोड दिँदै उनले भने ‘शासकवर्गले मधेशी जनताको शालिनतापूर्ण आवाजलाई सहज रुपमा सम्बोधन गर्दैन, यस्ताका लागि राजमार्ग अवरुद्ध गरेर काठमाण्डौका दानापानी बन्द गर्नु जरुरी छ ।’
सद्भावना पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा आयोजित विरोधसभामा तुफान मधेशी, युवा विद्यार्थी मोर्चा सप्तरीका संयोजक शम्भु यादव, आशिष सिंह, जयप्रकाश यादव, अमरकान्त झा, पञ्चदेव यादव, राजेन्द्र प्रसाद साह, जगदिश यादव, राजेश कुमार झा, रामकिसुन यादवलगायतले सम्बोधन गरेका छन् ।
