राजविराज, २१ असोज ।
विगत पौने दुई महिनादेखि निरन्तर जारी रहेको दङ्गाग्रस्त क्षेत्रका कारण सप्तरीको राजमार्ग क्षेत्रका बजारहरुकोे जनजीवन अक्रान्त बन्न पुगेको छ ।
छिटफुट रुपमा खुलेका पसलहरुमा पनि प्रहरीले दगाग्रस्त क्षेत्रमा बढीमा ४ जना भन्दा बढी मानिस एक ठाउँमा बस्न नपाउने भन्दै बन्द गराउन थालेपछि राजमार्गमा पर्ने भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजारहरु ठप्प भएपछि जनजीवन थप कष्टकर बन्न पुगेको छ । अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरीको गोलीबाट पोर्ताहाका रामकृष्ण राउतको मृत्यु भएपछि स्थानिय प्रशासनले सप्तरीको पुर्वमा कोशी ब्यारेजदेखि पश्चिममा बलान खोलासम्मको ४५ किलोमिटर राजमार्गको दायाँ–बायाँ पाँच सय मिटर क्षेत्रमा दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।
विगत ५५ दिनदेखि जारी मधेस बन्दका कारण सप्तरीका सवै बजार पसल, शैक्षिक संस्था, कलकारखाना, सरकारी कार्यालय, सरकारी तथा निजी सवै बैंकहरु समेत ठप्प रहँदा नजिकिंदै गरेको दशैं पर्व समेत प्रभावित हुने सम्भावना बढेको छ । दशैकालागि किनमेल गर्न ढिला हुन लागेको सर्वसाधारणले गुनासो गरेका छन् ।
यता सप्तरी तथा सुनसरीका मधेसी मोर्चा आवद्ध प्रदर्शनकारीहरुले कोशी ब्यारेज नाकाको दशगज्जा क्षेत्रमा पर्ने कोशी बाधमा २४ घण्टे धर्नामा बसेका छन् । उक्त नाकाबाट कोइला, हरियो सागसब्जी, फलफुल, खाद्यान्न लगायतका ५० वटा ट्रक नेपाल भित्रिंदै आएका थिए । यद्यपी दुई दिनदेखि उक्त नाका ठप्प हुँदा दैनिक १० लाख देखि १५ लाख रुपैयाँ राजश्व घाटा भइरहेको जनाइएको छ ।