राजविराज, १८ असोज ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका नव आगन्तुक प्रहरी प्रमुख भीम प्रसाद ढकालले जिल्लामा शान्ति सुरक्षाको व्यवस्था मिलाउन आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा सोमवार आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी उपरीक्षक ढकालले जिल्लावासीलाई शान्तिसुरक्षाको प्रत्याभुति दिलाउनु आफूहरुको कर्तव्य भएकोले आफूहरु उक्त जिम्मेवारीलाई पुरा गर्न प्रतिवद्ध रहेको बताए । ‘सप्तरी जिल्लामा शान्तिसुरक्षाको व्यवस्था मिलाउन हामी प्रतिवद्ध छौं’ उनले भने ‘जिल्लामा चोरी तस्करी, लागु औषध कारोबार, दुव्र्यसनी लगायतका गतिविधिहरु नियन्त्रण गर्न पनि हामीले नियमित चेकजाँच तथा गस्तीलाई निरन्तरता दिँदैआएका छौं ।
प्रहरीले नागरिकमैत्री व्यवहार अपनाउनका लागि विभिन्न कार्यक्रमहरुको शुरुवात गरेको जानकारी दिँदै उनले अपराधविहिन वातावरणको सिर्जना गर्नका आफूहरुले सक्दो प्रयास गर्ने बताए । प्रहरीबाट कार्यसम्पादनका क्रममा हुने गल्ती कमजोरीलाई समेत औंल्याईदिन आग्रह गर्दै प्रहरी उपरीक्षक ढकालले भने ‘अपराधीप्रति जिरो टोलरेन्सको निती अख्तियार गरे हामीहरु अगाडि बढ्नेछौं ।